इनरुवा नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाइ अझै सुरु भएको छैन्। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी इनरुवा नपाले तीन वर्षदेखि नगरभरिका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने प्रयास गरेको भए पनि कार्यान्वयनमा नआउँदा स्थानीय पाठ्यक्रमको पढाइ अझै सुरु हुन नसकेको हो।
त्रियुगा नगरपालिका–१०, बोक्सेस्थित करमगाछी–नयाँबस्ती–घलेटोल–गाईघाट खण्डको सडक निर्माण रोकिएको छ। पूर्वाधार विकास कार्यालय उदयपुरले घलेटोल क्षेत्रमा खानेपानीको पाइप फुटेको भन्दै तत्काल काम रोक्न भनी निर्माण कम्पनीलाई पत्राचार गरेपछि बुधबारदेखि सो योजनाको काम रोकिएको हो। निर्माण कम्पनीले सडक स्तरोन्नतिसँगै दुवैतर्फको नाला निर्माण गरी सबबेस लगाउने क्रममा साना सहरी खानेपानी योजनाबाट सो क्षेत्रमा वितरण गरिएको खानेपानीका पाइप खनिएको र त्यसबाट पानी चुहिएर निर्माणाधीन सडकसमेत प्रभावित भएको भन्दै वडा नं. १० का अध्यक्ष र निर्माण कम्पनीका ठेकेदारबीच विवादसमेत उत्पन्न भएकाले पूर्वाधार विकास कार्यालयले सडक निर्माणको काम रोकेको हो।
सिन्धुपाल्चोकका स्थानीय तहले सार्वजनिक पदमा बसेका व्यक्तिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय कार्यान्वयनमा समस्या देखिएको छ। अघिल्लो स्थानीय सरकारका बेला नै पनि यस्तो निर्णय गरिए पनि कार्यान्वयन भएन। यस वर्षको शैक्षिक सत्रमा पनि लिसङ्खुपाखर गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र सामुदायिक विद्यालयको सुदृढीकरणका लागि यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गल विष्टले जानकारी दिनुभयो।
प्रदेश र स्थानीय तहबीच सहकार्य, समन्वय र सहयोगका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश समन्वय परिषद् निष्क्रियजस्तै छ। दुई वर्षदेखि बागमती प्रदेश समन्वय परिषद्को बैठक बसेको छैन। मुलुक सङ्घीयतामा गएपछि तीनै तहका सरकारबीच अधिकार बाँडफाँट, विकास निर्माण, कानुन निर्माणमा समन्वय एवं सहकार्य र उत्पन्न विवाद संवादबाट समाधान गर्न सहजीकरण गर्ने गरी यो परिषद्को कानुनी व्यवस्था गरिएको हो । हालसम्म बागमती प्रदेश समन्वय परिषद्को तीनवटा बैठक बसेको छ। २०७५ जेठ ७ र ८ गते पहिलो बैठक तथा २०७६ जेठ २९ र ३० गते दोस्रो बैठक बसेको थियो। २०७७ चैत १२ गते बसेको परिषद्को तेस्रो बैठकले बैठक सञ्चालन कार्यविधि, २०७७ पारित गरेको थियो। यो कार्यविधिअनुसार परिषद्को बैठक वर्षमा दुई पटक बस्नुपर्छ।
सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, चर्चरे नजिकै सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । शुक्रवार बिहान ५ बजेतिर सडकमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
अमेरिकामा आयोजना हुन लागेको ११औँ नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) चलचित्र अवार्डको पूर्वनिर्धारित मिति सरेको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड आगामी साउन ६ गते (जुलाई २२) तय गरिएको चलचित्र प्राविधिक सङ्घले जनाएको छ । नेफ्टाका अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले आवश्यक तयारी नपुगेकाले अवार्ड समारोहको मिति पछि सारिएको जानकारी दिनुभयो ।
गोरखापत्र संस्थान कर्मचारी सङ्घ ४७ द्वारा स्थापित ‘गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ कार्यालय सहयोगी पदमबहादुर बस्नेत र प्रेसम्यान केशवप्रसाद सापकोटालाई प्रदान गरिने भएको छ ।
नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये फेरि १३ ब्रोकर कम्पनीले पनि आशयपत्र (एलओआई) पाएका छन् । नेपाल धितोपत्र बोर्डको बुधबार बसेको सञ्चालक समितिले थप १३ कम्पनीलाई ब्रोकरका रूपमा काम गर्न आशयपत्र प्रदान गरेको हो । यसअघि नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये १६ ब्रोकर कम्पनीले आशयपत्र (एलओआई) पाइसकेका छन् ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय भएको हो । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरेकाले जे जति विषयमा त्यस्तो ग्रेड प्राप्त गरेका छन्, ती सबै विषयमा ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउने जानकारी दिनुभयो । ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेले ‘नन ग्रेडेड’मा वर्गीकृत हुने व्यवस्था छ ।
गण्डकी प्रदेश प्रमुुख पृथ्वीमान गुरुङले विविधता बीचको एकताबाट राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५६७औँ बुद्ध जयन्तीको अवसरमा देश विदेशमा बस्नु हुने दाजुभाइ तथा दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।