केही समय यतादेखि कोरोना (कोभिड १९) सङ्क्रमणमा क्रमिक रूपमा बढ्दै गएको पाइएको छ । यो स्थिति नेपाललगायत छिमेकी मुलुक भारतमा समेत वृद्धि हुँदै गएको पछिल्ला आँकडाहरूले पुष्टि गरिरहेका छन् । विश्वका अन्य क्षेत्रमा पनि कोरोनाको सङ्क्रमण वृद्धिका समाचार दिनहुँजसो सुनिनमा आएका छन् । यसबाहेक कोरोनाको नयाँ सब भेरियन्टको विकास भइसकेको सम्बन्धमा विभिन्न समाचार प्रकाशमा आए पनि सरकारले मुलुकमा यस किसिमको सब भेरियन्ट नपाइएको सार्वजनिक गरेको छ । कोरोना फेरि फैलन सक्ने भय यथावत भइरहँदा त्यसप्रति सजग हुने पर्ने आवश्यकता भने देखिएकै छ ।
कोरोना बढ्न सक्ने अवस्था आउने सक्ने देखिएपछि त्यसबाट बच्न सबै खालका उपाय र जोहो जरुरी हुन्छ । देशविदेशको अवस्था विश्लेषणबाट कोरोना सङ्क्रमणको सम्भावना अझै पनि कायम रहेको र यसले कुनै पनि समयमा भयावह रूप लिन सक्दैन भन्ने छैन । कोरोनाविरुद्ध विभिन्न खोप आदिको विकास गरिए पनि यो भाइसरबाट संसारले तत्कालै पूर्ण रूपमा मुक्ति पाउने सम्भावना कमै देखिएको छ । यसको उन्मूलन त टाढैको विषय हो । इतिहासले पनि भाइरस कमजोर भएको देखाउँछ तर उन्मूलन नै भएको भने पाइँदैन । यस अवस्थामा यस रोगप्रतिको सचेतता, पूर्वसावधानी, सतर्कता तथा सङ्क्रमण भइहालेमा सङ्क्रमितहरूको उचित रेखदेख र उपचारको पूर्वतयारी महत्त्वपूर्ण पक्षहरू हुन् भन्ने कुरा विगतले देखाइसकेको छ । यसै सन्दर्भमा कोरोनाका सङ्क्रमितहरूको उपचार एवं भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूलाई राख्ने ‘होल्डिड सेन्टर’ तथा उपचार केन्द्र निर्माण गर्ने निर्णय सरकारले डेढ वर्षअघि नै गरेको थियो । यस्ता सेन्टरको स्थापनाको मुख्य ध्येय विदेशबाट आएकाहरूको तत्काल व्यवस्थापन र सङ्क्रमितहरूको उपचार नै हो ।
नेपालमा कोरोनाको दोस्रो लहर जारी रहँदा अक्सिजन, आईसीयु बेडलगायत अत्यावश्यकीय उपचार सामग्रीको अभावमा भयो । यस्तो अभावले कतिपय नेपालीले अकालमा ज्यान गुमाउनु परेको तीतो यथार्थ हामीसामु रहेको छ । यसै कमजोरीलाई पाठका रूपमा लिँदै कोरोना नियन्त्रणका निम्ति पूर्वसतर्कताका रूपमा यी ‘होल्डिड सेन्टर’ को निर्माण महत्त्वपूर्ण तथा आवश्यकीय पक्ष हुन् । तर विडम्बना नेपालमा नीति निर्माण कागजमा तय भए पनि वास्तविकतामा तिनीहरूले मूर्त रूप लिन निकै समय लाग्ने गरेको पाइन्छ । ‘होल्डिड सेन्टर’ को निर्माण पनि यस तथ्यबाट अपवाद हुन सकेको पाइँदैन । डेढ वर्षअघि सरकारले मुलुकमा आठ सीमा नाकामा यस्ता सेन्टर स्थापना गर्ने भने पनि हालसम्म एउटैको निर्माण सम्पन्न हुन नसक्नु वास्तवमै तीतो विषय हो । भैरहवाको बेलहियामा जग्गा प्राप्तिको समस्याले सेन्टर निर्माण कार्य स्थगित गरिएको समेत पाइएको छ ।
नेपाल भारत सीमा क्षेत्रको पूर्वदेखि पश्चिम क्षेत्रका विभिन्न सात स्थानमा एक हजार शय्या क्षमताका ‘होल्डिड सेन्टर’ कञ्चनपुरको गड्डाचौकी, कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगञ्ज, मोरङको विराटनगर (रानी) तथा झापाको काँकडभिट्टामा निर्माण प्रक्रिया अघि बढिरहेको भए पनि यी सेन्टरहरू कहिँलेसम्म निर्माण सम्पन्न भइसक्ने हुन्, यकिन छैन । यता कोरोनाले भने जुनसुकै बेला फँडा उठाउने सम्भावना छ ।
नेपाली सेनाद्वारा निर्माण भइरहेका यी सेन्टर कोरोना सङ्क्रमितहरूका लागि क्वारेन्टाइन, आइसोलेसन तथा उपचार गर्ने गरी बहुउद्देश्यीय भवनका निर्माण भएर सञ्चालनमा आएपछि विदेशबाट आउने तथा स्थानीय सङ्क्रमितलाई निकै राहत पुग्नेमा कुनै शङ्का छैन । अक्सिजन थेरापीको समेत सुविधा यी सेन्टरका थप विशेषता हुनेछन् । पूर्वाधार निर्माणले सभ्भावित जोखिमलाई न्यूनीकरण गर्न सक्ने नै छ ।
करोडौँको लागतमा निर्माण हुन लागेका यी सेन्टरहरू समयमै पूरा गर्नेतर्फ सम्बद्ध सबैको हरसम्भव प्रयास हुनुपर्नेमा सबैको एक मत नहुने कुरा भएन । कोरोना सङ्क्रमणलाई लक्षित गरेर निर्माण गरिन लागेका यी सेन्टर कथमकदाचित फेरि कोरोनाको भयावह स्थिति आउनुअघि नै निर्माण हुन नसके यिनीहरूको औचित्यको कुनै अर्थ रहने देखिँदैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि भवन निर्माण सम्पन्न हुनासाथ सञ्चालनको तम्तयारी अवस्थामा रहेकाले पनि ‘होल्डिड सेन्टर’ को भौतिक निर्माणलाई युद्धस्तरमा अगाडि बढाइनुपर्ने देखिन्छ । कोरोना सङ्क्रमण नभएको अवस्थामा समेत त्यस्ता भवनलाई वैकल्पिक प्रयोगमा ल्याई नागरिकलाई आवश्यक सुविधा दिन सकिने छ । त्यसैले लक्ष्य निर्धारण भई बजेटसमेत विनियोजन भइसकेको काम समयमै नहुनु भने विडम्बना नै हो ।