• २८ वैशाख २०८२, आइतबार

सीमा क्षेत्रमा उच्च सतर्कता

blog

विश्व मानव समाजमा कतिपय घटना मानिसले नचाहेर पनि विकसित हुन्छन् । मानव सभ्यतालाई प्रतिकूल असर पार्ने कुकार्य हुर्कंदै जाँदा त्यसविरुद्ध निर्मम भएर लाग्नुपर्ने हुन्छ । संसारका कतिपय भूभागमा दशकौँदेखि आतङ्कवाद हुर्कंदै गरेको पाइन्छ । मानव हितविरुद्ध ज्यान र धन लिने आतङ्कवादको जात, धर्म, सीमा, भूगोल केही हुँदैन । भारतको काश्मीरमा दुई साताअघि यस्तै आतङ्कवादी आक्रमण भयो । धर्तीको स्वर्ग मानिने काश्मीर हेर्न विश्वकै पर्यटक पुग्ने गर्छन् । काश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा दुई साताअघि आतङ्कवादी हमला भत्र्सनायोग्य घटना हो । आतङ्कवादी समूहले नेपाली युवा सुदीप न्यौपानेसहित २६ जनाको निर्मम हत्या गरे । यसबाट भारत सरकारले आतङ्कवादविरुद्ध कडा नीति अवलम्बन गर्नु स्वाभाविक थियो । जीवन गुमाएका २६ जनाका निम्ति न्याय प्रदान गर्न आतङ्कवादीलाई विश्वकै कुनै पनि भूभागमा लुकेर बसे पनि कारबाही गर्ने प्रतिबद्धता उचित हो । यसैले भारतले कतिपय पाकिस्तानी भूभागमा अखडा बनाएर बसेका आतङ्कवादी समूहविरुद्ध कारबाही सुरु गरेपछि यसले तनावको अवस्था सिर्जना गरेको छ । भारत र पाकिस्तानबिचको यो तनावले धेरै प्रभाव पारेको छ । त्यस क्रममा छिमेकी मुलुक नेपाल पनि अप्रभावित रहन सक्ने हुँदैन । नेपाल र भारतबिचको खुला सिमानाका कारण आतङ्कवादीले अस्वाभाविक दुरुपयोग गर्न सक्ने जोखिम पनि हुन्छ । त्यसैले नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता बढाउन थालेको छ । यो जायज कदम हो ।

भारत र पाकिस्तानबिचको पछिल्ला तनाव तथा विकसित घटनक्रमपछि समग्र सुरक्षाको विषयमा दक्षिण एसियामै आमचासो बढेको छ । भारतीय सरकारले भने जस्तो आतङ्कवादी कारबाहीका क्रममा भारत र पाकिस्तानका सैनिक गतिविधि बढेका छन् । कतिपय आतङ्कवादीको अखडा ध्वस्त भए पनि दुवैतर्फ सैनिक गतिविधिले युद्धतर्फ अग्रसर छ । दुवैतिर नागरिकले समेत ज्यान गुमाउन थालेका छन् । यसको अनेक कोणबाट विश्वभर विश्लेषण हुन थालेको छ । भारत–पाकबिचको आक्रमण प्रत्याक्रमणबाट हालसम्म पाकिस्तानतर्फ ३१ जना र भारततर्फ १५ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सर्वसाधारणको ज्यान जानु कुनै पनि हालतमा राम्रो पक्ष होइन । काश्मीर क्षेत्रमा आतङ्कवादी गतिविधि लामै समयदेखि क्रियाशील देखिन्छ । अमेरिकी विदेश मन्त्रालयले सन् २०१९ मा सार्वजनिक गरेको आतङ्कवादसम्बन्धी प्रतिवेदनमा इन्डियन मुजाहिद्दीन (आइएम) नामक समूह काश्मीर क्षेत्रमा सक्रिय रहेको देखाइएको छ । त्यस्ता समूहले भारत र पाकिस्तानसँगै खुला सिमानाका कारण नेपालमा समेत लुक्ने छिप्ने गरेको आशङ्काका कारण पनि सीमा सुरक्षामा उच्च सतर्कता वाञ्छनीय छ । भारतमा दशकौँदेखि कतिपय आतङ्कवादी समूहले आक्रमण गर्ने गरेको विगत छ । त्यस्ता आतङ्कवादी हमलामा मुजाहिद्दीन तथा लस्करे तोइबालगायतका आतङ्कवादी समूहको हात रहेको भारत सरकारको आरोपमा सत्यता हुन सक्छ । कुनै पनि आतङ्कवादी समूहलाई कुनै पनि देश र सरकारले साथ दियो भने त्यो गम्भीर कमजोरी हुन सक्छ । आतङ्कवाद सबैको साझा शत्रु हो । 

दक्षिण एसियाका दुई मुलुक भारत र पाकिस्तान कुनैबेला एउटै मुलुक थिए । औपनिवेशिक पीडाबाट मुक्त हुने क्रममा स्वतन्त्रतासँगै दुई मुलुकको जन्म हुन पुग्यो । सन् १९४७ मा धर्मका आधारमा पाकिस्तानको जन्म हुन पुग्यो भने पछि सन् १९७१ मा भाषाका कारण पाकिस्तानबाट बङ्गाली भाषा बाहुल्य पूर्वी पाकिस्तान टुक्रिएर बङ्गलादेश स्थापना हुन पुग्यो । धर्म तथा भाषाका कारण कुनै पनि देश टुक्रिनु इतिहासको राम्रो परिघटना होइन । अलग मुलुक भएर पनि छिमेकमा असल सम्बन्धका साथ शान्ति र भाइचारामा अगाडि बढ्नु वाञ्छनीय थियो । भारत र पाकिस्तान स्थापनाकालदेखि नै अनेक युद्धमा होमिएका छन् । युद्ध सैनिक कारबाहीमा मात्र सीमित हुँदैन । युद्धले निहत्था नागरिकको ज्यान लिन्छ । देशको साधन र स्रोत शस्त्रअस्त्रमा खर्चिनुपर्ने हुँदा शिक्षा र स्वास्थ्यमा खर्च कमी हुन जान्छ । आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानले चाँडोभन्दा चाँडो अहिलेको तनावलाई न्यूनीकरण गर्नु पर्छ । आतङ्कवादीविरुद्ध साझा सङ्कल्प गरी अगाडि बढ्नु पर्छ । दक्षिण एसियाको यो कठिन घडीमा नेपालले आफ्नो भूमिका गम्भीर तवरले अगाडि बढाएको छ । आतङ्कवादीविरुद्ध नेपालको प्रतिबद्धता सुस्पष्ट छ । आतङ्कवादीविरुद्ध सबैको प्रतिबद्धताले अहिलेको विद्यमान तनाव न्यूनीकरण गर्न सघाउ पुग्ने छ । काश्मीर घटनामा नेपाली नागरिकको समेत ज्यान गएकाले यो आतङ्कवादी घटनामा नेपाललाई समेत ठुलो पीडा भएको छ । त्यसैले अझ उच्च सतर्कता आवश्यक छ ।