• २३ असार २०८२, सोमबार

संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्विप मानिँदैन: माओवादी सांसद शर्मा

blog

काठमाडौँ, असार २२ गते । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्विप नमान्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै सांसद शर्माले दलगत ह्विप स्वीकार्य नहुने बताउनुभएको हो । उहाँले समितिको बैठक सुरु नहुँदै विधेयकमा थप गर्नुपर्ने कुरा प्रस्ताव गर्नुको सट्टा बैठक नै स्थगित गर्ने प्रस्ताव आएको भन्दै आपत्ति जनाउनु भयो । 

सांसद शर्माले भन्नुभयो, ‘कुनै राजनीतिक दलको प्रमुख सचेतकको ह्विप मान्न यो समिति बाध्य छैन, मानिँदैन । त्यस कारण आ–आफ्ना ह्विप कहाँ लाउने हो आफ्नो ठाउँमा लाउनु । समिति सभापतिज्यूले टाढा टाढाबाट समितिका सदस्यहरूलाई बोलाएर बैठक राखेर बैठक सुरु नहुँदै बैठक स्थगितको प्रस्ताव आएपछि यसले राम्रो सन्देश दिन्छ ? यसले हामी राम्रो कानुन बनाउँदै छौं भन्ने कुरामा कसरी सुनिश्चित हुन्छ ? अरु नयाँ कुरा आएको भए पनि हुन्थ्यो हामीले सहमति गरेका विषयहरूमा डोजर चलाइँदै छ । यस्तोमा हामी यो ठिक हो भनेर ताली बजाउन सक्छौँ ?’

लगत्तै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद शर्माको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै  उठेर नियमापत्ति जनाउनु भयो । समिति सभापति अम्मरबहादुर थापाले माफी मागेपछि सचेतक घिमिरे बस्नु भएको थियो । सांसद शर्माले सरकारले विधेयकका सन्दर्भमा सहमति भइसकेका विषयहरू बल्झाउने प्रयास गरिरहेको पनि टिप्पणी गर्नुभयो ।