• ६ जेठ २०८३, बुधबार

‘पर्साका लागि गौरवको विषय’

blog

प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा

 कन्हैयालाल केशरी 

पर्सा, जेठ ६ गते । प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त हुनुभएपछि गृहजिल्ला पर्साका बासिन्दाले प्रसन्नता प्रकट गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ११, ओम आश्रममा २०२७ असार ४ गते जन्मिनुभएका शर्मा प्रधान न्यायाधीश नियुक्त हुनु हुने पहिलो पर्सावासी हुनुहुन्छ ।

प्रधान न्यायाधीश शर्माका सहपाठी तथा प्रशासकीय अदालतका सदस्य नवलकिशोर यादवले विद्यालय र प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययनमा शर्मा र आफू सहपाठी रहेको बताउनुभयो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ७ सम्म अध्ययन गर्नुभएका शर्मा त्रिजुद्ध माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्नुभएको थियो । वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसबाट उहाँले आइएल गर्नुभएको थियो । त्यसपछि शर्मा उच्च अध्ययनका लागि काठमाडौँ जानुभएको थियो । कानुन अध्ययनमा विशेष रुचि राख्नुहुने शर्मा अत्यन्त मिलनसार र सरल व्यक्ति रहनुभएको सहपाठी यादवले बताउनुभयो । 

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रधान न्यायाधीशमा शर्मा नियुक्त हुनु वीरगन्ज महानगरसँगै पर्सा जिल्लाका लागि नै गौरवको विषय रहेको बताउनुभयो । हरिखेतान बहुमुखी क्याम्पसका तत्कालीन प्राध्यापक एवं वरिष्ठ अधिवक्ता दीपकराज भण्डारीले आफूले पढाएको विद्यार्थी शर्मा प्रधान न्यायाधीश हुँदा अत्यन्त खुसी लागेको बताउनुभयो । 

हरिखेतान बहुमुखी क्याम्पसका सल्लाहकार प्रकाश खेतानले क्याम्पसका पूर्वविद्यार्थी शर्मा प्रधान न्यायाधीश नियुक्त हुनुभएकोमा क्याम्पसको गौरव बढेको उल्लेख गर्नुभयो । “शर्माको अध्ययनशीलता, मेहनत र समर्पणको परिणाम हो, अन्य विद्यार्थीका लागि पनि यो प्रेरणाको कुरा हो,” उहाँले भन्नुभयो ।