टोपलाल अर्याल
रेसुङ्गा जेठ ३ गते। नेकपा (एमाले)का उप–महासचिव प्रदिव ज्ञवालीले धेरै प्रतिकुलताकोबिच देश बन्दै गरेको बताउनुभएको छ। एमाले धुर्कोट गाउँ कमिटीको आयोजनामा बोमबहादुर–टोमलाल स्मृति प्रतिष्ठानको भवन उद्घाटन गर्दै ज्ञवालीले व्यावस्थाको प्रतिकुलता चाहने शक्तिले देश बन्दैन भनेर भ्रम छरे पनि प्रतिकुलताबिच देश बन्दै गएको बताउनु भएको हो।
एमालेले समृद्ध मुलुक निर्माणको संकल्प बोकेकाले ज्ञवालीले सडक, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका थुप्रै क्षेत्रमा सरकारले काम गरिरहेको बताउनुभयो।
उहाँले विकास निर्माणको जग बसाउने तथा सामाजिक अभियान्ता स्वर्गीय टोमलाल पाण्डे र बोमबहादुर खड्काको प्रशंसा गर्दै धेरै पैसा र ओहोदाभन्दा बाँचुञ्जेल गरिने कर्म जनताको देशको लागि महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले भन्नुभयो,“२०५० सालमा मदन र जिवराजसँगै एमाले त्रिशुलीमा खस्यो भन्नेहरु पनि थिए। हामी शोकलाई शक्तिमा बदलेर द्वन्द्व, भूकम्प, नाकाबन्दी, बाढीपहिरोसहित विभिन्न शक्तिलाई परास्त गरेर जनताको लागि काम गरिरहेका छौँ।”
कार्यक्रममा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्ट, एमाले धुर्कोट गाउँकमिटी अध्यक्ष लो बहादुर केसीले सम्बोधन गर्नुभयो। कार्यक्रममा जग्गादाता हिमप्रसाद पन्थी, निर्मला बन्जाडे, फर्निचर सहयोग गर्ने खिमानन्द भण्डारी, धुर्कोट–काठमाण्डौ सम्पर्क मञ्च, भवन निर्माण समिति, पार्टी सदस्यता लिएर नवीकरण गर्दै आएका ७० जना ज्येष्ठ नागरिक, बोम बहादुर खड्का र टोमलाल पाण्डेयको परिवार र धुर्कोट गाउँपालिकालाई सम्मान गरिएको छ।