• ३ जेठ २०८२, शनिबार

तरुण दल अधिवेशनमा खुकुरी प्रहार, चार घाइते

blog

घाइते हुनुभएकाहरू लमजुङ अस्पतालमा उपचार गराउँदै ।

नवीनराज कुइँकेल

लमजुङ, जेठ ३ गते । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहार हुँदा चार जना घाइते भएका छन् । शनिबार बेँसीसहरमा भएको तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो । 

संस्थापन पक्षका युवाहरूले इतर पक्षका युुवामाथि खुकुरी प्रहार गरेको सहभागीहरूले बताएका छन् । घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहनुभएका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदिप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहनुभएको छ । 

घाइतेमध्ये नेविसङ्घका केन्द्रीय सदस्य अधिकारीको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँलाई प्रदेश अस्पताल लमजुङमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । अन्य घाइतेको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ । 

नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ र कांग्रेस लमजुङका पूर्व सभापति समेत रहनुभएका गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेल पक्षधर युुवाहरूबिचको टसलले घटना निम्तिएको प्रत्यक्षदर्शीले बताएका छन् । 

संस्थापन रहेका गुरुङ पक्षधरले तरुण दलमा मनलाग्दी तरिकाले पूर्णकालीन सदस्यलाई हटाउने, प्रतिनिधि छनाेट गर्ने गरेको विषयमा विरोध जनाउँदा खुकुरी प्रहार भएको घाइते किशोरजङ्ग बस्नेतले बताउनुभयो । 

तरुण दलको जिल्ला अध्यक्षको प्रत्यासी समेत रहनुभएका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, भीम गुरुङ, बेँसीसहर नगर सभापति विशाल अधिकारी लगायतलाई पूर्णकालीन सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट छेकेदिएको भन्दै इतरपक्षले उद्घाटनसत्रमा प्रश्न उठाएको थियो ।