लक्ष्मण पौडेल
भैरहवा, पुस ९ गते। बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट भुक्तानी हुनुपर्ने रकम पुस मसान्तसम्म भुक्तानी नभए माघ १ गतेदेखि सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत मिर्गौलाको निःशुल्क डायलाइसिस र मुटुको निःशुल्क उपचार बन्द गर्ने घोषणा गरेको छ।
सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रम मार्फत क्याथल्याबबाट मुटुका बिरामीको उपचार गर्दा एक लाख र मिर्गौलाका बिरामीको डायलाइसिस गर्दा एक पटकमा दुई हजार ५०० रुपियाँ निःशुल्क उपचारका लागि सूचीकृत अस्पताललाई उपलब्ध गराउँदै आएको छ।
गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले पनि उक्त उपचारका लागि सूचीकृत भई मिर्गौलाका बिरामीको निःशुल्क डायलाइसिस र मुटुका बिरामीको निःशुल्क उपचार गर्दै आएको छ।
जसअनुसार यस वर्ष मात्रै क्याथल्याब मार्फत एक हजार ३८४ जना मुटुका बिरामी र ५५१ जना मिर्गौलाका बिरामीको नियमित डायलाइसिस गरी १८ करोड ५९ लाख ५४ हजार १४ रुपियाँ बराबरको उपचार सेवा प्रदान गरेको अस्पतालले जनाएको छ। तर, सरकारले रकम भुक्तानी नगर्दा भने चरम आर्थिक सङ्कट उत्पन्न भई निःशुल्क सेवा नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको अस्पतालले जनाएको छ।
अस्पतालले बुधवार पत्रकार सम्मेलन गरी सरकारबाट प्राप्त गर्नुपर्ने रकम लामो समयसम्म निकासा नगर्दा अन्य उपचार सेवा समेत प्रभावित हुने अवस्था सिर्जना भएकोले सरकारले घोषणा गरेको विपन्न नागरिक औषधी उपचार कार्यक्रम मार्फतको निःशुल्क उपचार सेवा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आई परेको जनाएको हो।
अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार अस्पतालले मङ्सिर मसान्तसम्म १७ करोड ८१ लाख नौ हजार ३७९ रुपियाँ पाउन बाँकी छ। अघिल्लो वर्षको समेत गरी मङ्सिर मसान्त सम्म २० करोड ३९ लाख ३१ हजार ८७९ रुपियाँ बाँकी रहेकोमा जम्मा दुई करोड ५८ लाख २२ हजार ५०० रुपियाँ मात्र भुक्तानी हुँदा अस्पताल चरम आर्थिक सङ्कटमा परेकोले विपन्न नागरिक औषधी उपचार कार्यक्रम मार्फतको निःशुल्क उपचार सेवा बन्द गर्नुपर्ने निर्णयमा पुगेको अध्यक्ष आलमले बताउनुभयो।
‘सरकारबाट पाउनुपर्ने रकम लामो समयसम्म पाउन नसक्दा चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब भुक्तानी र बिरामीको उपचारका लागि चाहिने औषधी खरिदका लागि रकम अभाव भएको छ,’ उहाँले भन्नुभयो।
औषधी आपूर्ति गर्ने कम्पनीलाई लामो समयसम्म रकम भुक्तानी दिन नसक्दा औषधी र उपकरण दिन बन्द गर्न थालेकोले उपचार सेवा नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष आलमले बताउनुभयो।
उहाँले सरकारले निःशुल्क उपचार बापतको रकम कुनै वर्ष स्वास्थ्य विभागबाट त कुनै वर्ष बिमा बोर्डबाट भुक्तानी गर्दा पनि समस्या उत्पन्न भइरहेको बताउनुभयो। अध्यक्ष आलमका अनुसार आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य बिमा बोर्डबाट स्वास्थ्य विभागमा सार्दा बाँकी रहेको ६ करोड १९ लाख, ७२ हजार ५०० रुपियाँ हालसम्म पनि प्राप्त हुन् सकेको छैन। यस आर्थिक वर्षदेखि फेरि स्वास्थ्य विभागबाट बिमा बोर्डमै भुक्तानीको लागि सार्दा समस्या फेरि दोहोरिएको उहाँले बताउनुभयो।
गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा २०७० सालदेखि सुरु गरिएको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले २०७३ सालमा क्याथल्याब सेवा सञ्चालन गरी हालसम्म ६ हजार ५६९ जनालाई एन्जियोग्राफी, एन्जियोप्लाष्ट, अस्थायी पेसमेकर, स्थायी पेसमेकर, पेरिकार्डियो सेन्टिसिस, राइट हार्ट क्याथेटराजेसन र पीटीएमसी सेवा प्रदान गरेको छ।
त्यस्तै २०७२ सालदेखि सुरु गरिएको मिर्गौलाको उपचार सेवाबाट हालसम्म तीन लाख ३३ हजार ७२१ सेसन निःशुल्क डायलाइसिस सेवा प्रदान गरेको छ भने हाल पनि ५५१ जनाले नियमित रूपमा मिर्गौलाको नियमित डायलाइसिस गराउँदै आएका छन्।
लुम्बिनी प्रदेशका सबै अस्पतालहरूमा गरी साढे आठ सय हाराहारी मिर्गौलाका बिरामीहरूले नियमित डायलाइसिस गराउँदै आएकोमा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले मात्रै ५५१ जनाको डायलाइसिस गराउँदै आएको छ।