सलिम मियाँ
बिजुवार, चैत २३ गते । झिमरुक गाउँपालिका–७, तुसारा प्युठानकी ३० वर्षीय सीता पोख्रेलले लोक सेवा आयोगद्वारा लिइएका आठ वटा परीक्षा नौ महिनाभित्रै उत्तीर्ण गर्न सफल हुनुभएको छ ।
नेपाल आयल निगम छैटौँ तह, नेपाल विद्युत् प्राधिकरण (प्राविधिक) सातौँ, नागरिक उड्डयन प्राधिकरण (प्राविधिक) पाँचौँ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी सातौँ, राष्ट्रिय परीक्षा बोर्ड छैटौँ, त्रिवि सेवा आयोग छैटौँ, गुठी संस्थान छैटौँ तह र काठमाडाैँ उपत्यका खानेपानी लिमिटेडको छैटौँ तह पास गरेकी सीता अहिले नेपाल विद्युत् प्राधिकरण रामेछापमा सातौँ तहकी प्रशासनिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ ।
सीताले कुनै तयारी कक्षा नलिई घरमै बसेर प्रविधिको प्रयोग गर्दै अध्ययन गरेर यो सफलता हासिल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जेमा भए पनि नाम निस्कोस् भन्ने मात्र थियो । त्यसैले समय व्यवस्थापन गर्दै पढेँ, घरपरिवार र बच्चासँगै पढाइ सन्तुलनमा राखेर पढ्दा सफलता मिल्यो ।”
विवाहपछि जीवनमा जिम्मेवारी थपिँदा पनि उहाँले पढाइ छोड्नुभएन । दाङको देउखुरीमा २०७४ मा विवाह गरेपछि परिवार र बच्चासँगै बढेका दायित्वले पढाइ सजिलो थिएन तर उहाँले चुनौतीलाई अवसरमा परिणत गर्दै पाँचबर्से छोरासँगै नियमित पढाइ जारी राख्नुभयो ।
उहाँको पढाइ यात्रामा श्रीमान् माधवमणि पौडेलको साथ महत्वपूर्ण रह्यो । काठमाडौँस्थित कानुन मन्त्रालयमा कार्यरत उहाँले सीतालाई निरन्तर प्रेरणा र सहयोग दिइरहनुभएको छ । सीता भन्नुहुन्छ, “श्रीमान्को साथ र ऊर्जा नै मेरो सफलताको आधार भयो । उहाँले उच्च तहमा मात्र फाराम भर्न सहयोग गर्नुभयो, जसले आत्मविश्वास बढायो ।”
विद्यालय तहको अध्ययन प्युठानमै पूरा गरेकी सीता प्लस टु पाल्पाबाट, ब्याचलर दाङबाट र मास्टर्स काठमाडौँबाट सकाउनुभएको हो । विज्ञान विषयमा मास्टर्स गर्नुभएको उहाँले युट्युब र च्याटजिपिटी जस्ता प्रविधि प्रयोग गरी स्वअध्ययनबाट तयारी गर्नुभएको हो । उहाँले भन्नुभयो, “मैले कुनै तयारी कक्षामा गएर पढेकी होइन । प्रविधिको प्रयोग गरेर अध्ययन सामग्री जुटाएर पढेँ । विभिन्न युट्युब र च्याट जिपिटीमार्फत सामग्री तयार गरेर नोट बनाएँ । आफैँ खोजेर पढेँ । प्रविधिको प्रयोग गर्न जाने धेरै सामग्री त्यसमै भेटिन्छ । समयको सदुपयोग गर्नु नै सफलता हो । दैनिक थोरै समय पढे पनि निरन्तर पढ्नु पर्छ ।”
बिहानबेलुका र बच्चा सुतिसकेपछि अध्ययन गर्ने समय व्यवस्थापन गरेको बताउँदै सीताले भन्नुभयो, “मैले बिहेपछि एमएस्सी सकेँ, बिचमा छोरा जन्मियो, थेसिस ढिला भयो । धेरैले विज्ञान पढेर कसरी लोक सेवा पास गरिस् भनेर सोध्छन् । यो सबै श्रीमान्को प्रेरणा र ऊर्जा हो ।”
छोरा हुर्किन थालेपछि उहाँले लोक सेवा तयारी सुरु गर्नुभएको हो । उहाँ माइतीमा हुँदा पनि अब्बल विद्यार्थी हुनुहुन्थ्यो । उहाँका बुवा गाउँकै प्राथमिक विद्यालयमा शिक्षक हुनुहुन्थ्यो । बुवाको प्रेरणाले घरमै पढ्ने वातावरण बन्यो । पाँच दिदीबहिनीमध्ये माइली र एक भाइकी दिदीका रूपमा उहाँ अहिले परिवारमा मात्र होइन सिङ्गो समाजकै पनि प्रेरणाको स्रोत बन्नुभएको छ ।
सीताले लोक सेवा अनुभव बाँड्दै भन्नुहुन्छ, “पढाइका लागि ठुलो स्रोत आवश्यक छैन । इच्छाशक्ति र समय व्यवस्थापन भए पर्याप्त छ । निरन्तर मेहनत गरे जो कोही सफल हुन सक्छ । पढ्ने रुचि भएमा केहीले रोक्दैन ।”