अर्जुन काफ्ले
स्याङ्जा, चैत २३ गते । विरुवा गाउँपालिका वडा ४ मडकिना घुम्ति –विरुवा भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
घुम्तिबाट विरुवा जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खस्न जाँदा ११ जना घाइते भएका हुन् । दुर्घटनामा विरुवा–४ घोप्टेका आठ वर्षीया एन्जल नेपाली, ओरेस्टका ५० वर्षीया मानसिङ गुरुङ, ५९ वर्षीया दालमायाँ गुरुङ, ६५ वर्षीया रेम कुमारी बस्याल, प्रदिप दर्जीको छोरा १३ वर्षीया कृष्चल दर्जी, पोखरा महानगरपालिका–११ की ६० बर्षी विष्णुमाया गुरुङ, पोखरा –१७ विरौटाकी ५६ वर्षीया सिता वाग्ले, पोखरा –१५ का जल्पा मार्ग बस्ने ६० वर्षीया बिमला गुरुङ घाइते भएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले बताउनुभयो ।
यस्तै पुतलिबजार नगरपालिका –७ ठुलाडीहीका ५७ वर्षीया चन्द्र सुब्बा गुरुङ, ३३ वर्षीया शर्मीला नेपाली, शर्मीला नेपालीको छोरा साढे दुई बर्षीय कृष्ण नेपाली घाइते भएको चौधरीले बताउनुभयो ।
चालक सहित १५ जना सवार रहेकोमा घाईतेहरुको प्रदेश अस्पताल पुतलिबजार स्याङजा प्रथमिक उपचार पोखरा पठाइएको छ । घाईतेहरुको छाती, पेट, मुख, खुट्टा , निधा हातमा चोट लागेको प्रहरीले बताएको छ ।