राजकुमार भट्टराई
खोटाङ, वैशाख २० गते । खोटाङको रावा बेसी गाउँपालिका–१, दम्सुस्थित कालिका आधारभूत विद्यालयलाई आवासीय बनाएपछि विद्यार्थी सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । अभिभावकबाट 'मानो–पाथी' खाद्यान्न सङ्कलन र विभिन्न निकायको सहयोगमा आवासीय सुविधा सुरु गरेपछि एकै वर्षमा विद्यार्थी सङ्ख्या दोब्बर भएको हो ।
कक्षा ८ सम्म पठनपाठन हुने यस विद्यालयमा शैक्षिक सत्र २०८३ मा हालसम्म ७७ जना विद्यार्थी भर्ना भइसकेका छन् । आवासीय भवन निर्माण हुनुअघि ४० जना मात्र विद्यार्थी रहेकोमा अहिले यो सङ्ख्या ७७ पुगेको छ । भर्ना अभियान जारी रहेकाले सङ्ख्या अझै बढ्न सक्ने प्रधानाध्यापक टीकाराम चाम्लिङ राईले बताउनुभयो ।
आवासीय सुविधा सुरु भएपछि छिमेकी जिल्ला इलामबाट एक जना र सोलुखुम्बुबाट दुई जना विद्यार्थी यहाँ पढ्न आएका छन् । यस्तै जिल्लाभित्रका सप्तेश्वर, हलेसी, बुइपा, विजयखर्क, हुर्लुङ र कुभिन्डेबाट समेत विद्यार्थी आउने क्रम बढेको छ । वि.सं. २०३६ मा स्थापना भएको यस विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर घटेपछि शिक्षक र अभिभावकको सल्लाहमा २०८२ जेठ १ गतेदेखि आवासीय बनाइएको थियो ।
आवासमा बस्ने विद्यार्थीका लागि खाना र खाजाको व्यवस्थापन गर्न गाउँका अभिभावकले अन्न सङ्कलन अभियान नै चलाएका छन् । प्रधानाध्यापक राईका अनुसार अभिभावकले स्वैच्छिक रूपमा चामल, मकै, कोदो, तेल, नुन, चिनी र तरकारी उपलब्ध गराइरहेका छन् । धान खरिदका लागि भने रावा बेसी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
विद्यालयमा संस्कारसहितको व्यावहारिक शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ । “विद्यार्थीहरू दिउँसो किताब पढ्छन्, बिहान–बेलुका तरकारी बारीमा काम गर्छन् र सङ्गीत तथा नृत्य पनि सिक्छन्,” प्रधानाध्यापक राईले भन्नुभयो । ‘इको हिमाल’ संस्थाको सहयोगमा विद्यार्थीले टमाटर, काउली, खुर्सानी, मुला र गाँजर खेतीका साथै कुखुरा र सुँगुर पालनसमेत गरिरहेका छन् । आधुनिक प्रविधिसँग जोड्न विद्यार्थीलाई बिहान–बेलुका आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी अध्ययन पनि गराउन थालिएको छ ।
विद्यालय सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा सदस्य विशाल राईको संयोजकत्वमा १० लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ । हाल विद्यालयमा कुल २० लाख रुपियाँ बराबरको अक्षयकोष रहेको र त्यसैको ब्याजबाट निजी शिक्षकको तलब र आवास व्यवस्थापनमा खर्च भइरहेको छ ।
आवासमा बस्ने विद्यार्थीबाट मासिक एक हजार ५०० रुपियाँ शुल्क लिने गरिएको छ भने दलित, गरिब र अभिभावकविहीन १० जना विद्यार्थीलाई निःशुल्क राखिएको छ । कक्षा ३ भन्दा मुनिका विद्यार्थीको सरसफाइका लागि छुट्टै कर्मचारीको व्यवस्था गरिएको छ । हाल विद्यालयमा नौ जना कर्मचारी कार्यरत छन्, जसमा दुई जना निजी स्रोतका शिक्षक हुन् । पर्याप्त कोठा भए पनि आवासकै लागि व्यवस्थित भवनको भने अझै अभाव रहेको प्रधानाध्यापक राईले बताउनुभयो ।