विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख २० गते ।सप्तरी प्रहरीले सालको काठ (गोलिया) सहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।
शनिबार राति ९ः३० बजे खडक नगरपालिका वडा नम्बर ८ बिसनपुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा गस्ती गर्ने क्रममा स १ त ३९०२ नम्बरको ट्याक्टर सहित काठ नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको ट्याक्टरमा राखिएको तीन थान सालको काठ (गोलिया) ट्याक्टर सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
उहाँले नियन्त्रणमा लिइएको काठ सबडिभिजन वन कार्यालय कल्याणपुरबाट प्राविधिक कर्मचारी बोलाई नापजाँच गर्दा उक्त काठको परिमाण ८० क्युफिट रहेको र मूल्य दुईलाख लाख ४० हजार मूल्य बराबरको रहेको बताउनुभयो ।
त्यस्तै नियन्त्रणमा लिइएको ट्याक्टरको मूल्य छ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ । काठ र ट्याक्टर गरी जम्मा आठलाख लाख ४० हजार बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सालको काठसहित ट्याक्टर सव डिभिजन वन कार्यालय कल्याणपुर, सप्तरीमा बुझाइएको छ ।