• २३ चैत २०८२, सोमबार

‘महिला अधिकार सुदृढीकरणमा केन्द्रित’

blog

अस्मिता पोखरेल 

धादिङबेँसी, चैत २३ गते । लामो समयदेखि सामाजिक तथा महिला अधिकारका क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी गङ्गादेवी श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित श्रेष्ठ नीलकण्ठ नगरपालिका–७ निवासी हुनुहुन्छ । २०३३ साल साउन २९ गते जन्मनुभएकी श्रेष्ठले एसएलसीसम्म अध्ययन गर्नुभएको छ । 

उहाँ भन्नुहुन्छ, “मेरो प्राथमिकता महिला अधिकार सुनिश्चित गराउने हो । पितृसत्ता समाजमा घरदेखि राज्यका निकायसम्म महिलाले पुरुष सरह अधिकार पाउन सकेका छैनन् । मैले पहिलेदेखि महिला अधिकारका क्षेत्रमा काम गर्दै आएका कारण अब संसद्मा अधिकार सुदृढीकरणमा विशेष ध्यान दिने छु ।” शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकता दिनुपर्ने अर्को विषय छ । स्वास्थ्य सेवा सर्वसुलभ बनाएर गरिबले पनि उपचार पाउने अवस्था सिर्जना गर्नुपर्ने छ । आमनागरिकको कमाइको ठुलो हिस्सा स्वास्थ्य र शिक्षामा खर्च भइरहेको भन्नुहुँदै उहाँले मानिस स्वस्थ नभएपछि परिवारको आर्थिक अवस्था कमजोर भएको बताउनुभयो । यातायातका कारण हुने प्रदूषणले स्वास्थ्यमा असर पारेको विषयमा समेत ध्यान दिनुपर्ने उहाँको धारणा छ ।

श्रेष्ठले भन्नुभयो, “नेपालको शिक्षा प्रणालीमा व्यावहारिक र व्यावसायिक पक्ष कमजोर हुँदा गाउँघर खाली हुँदै जाने समस्या देखिएको छ । शिक्षामा नीतिगत सुधार आवश्यक छ । जसले युवालाई आफ्नै ठाउँमा अवसर सिर्जना गर्न सकोस् । आफ्नै गाउँघरमा रोजगारी पाउने अवस्था बनाउने अहिलेको आवश्यकता हो ।” राजनीतिक यात्राको सुरुवात विद्यार्थी सङ्गठनबाट गर्नुभएकी श्रेष्ठले २०४५ मा अनेरास्वबियु (पाँचौँ) मार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । त्यसपछि पार्टीका विभिन्न तहमा जिम्मेवारी समाल्दै उहाँ अहिले बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश कार्यालय सचिवको जिम्मेवारीमा रहनुभएको छ ।

संसदीय अनुभवतर्फ हेर्दा उहाँ २०५४ सालमा साबिक सुनौलाबजार गाविस सदस्य रहनुभएको थियो । २०७४ मा नीलकण्ठ नगरपालिकाको उपप्रमुख र २०७९ मा प्रमुख पदमा उम्मेदवार भई उपविजेता बन्नुभएको थियो । सामाजिक कार्यलाई आफ्नो मूल आधार मान्दै आउनुभएकी श्रेष्ठले अब संसद्मार्फत जनसरोकारका विषयमा प्रभावकारी रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।