• ९ पुस २०८२, बुधबार

भौतिक तथा सेवा विस्तारमा सिन्धुली अस्पताल

blog

सिन्धुली अस्पतालको लिफ्टसहितको सुविधा सम्पन्न नबनिर्मित अढाइ तले भवन । तस्बिरः बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, पुस ९ गते । सिन्धुली जिल्लाकै सबैभन्दा ठुलो सरकारी स्वास्थ्य संस्था ‘सिन्धुली अस्पताल’ पछिल्लो वर्षमा भौतिक तथा सेवा सुधारतर्फ अघि बढ्दै गएको छ । 

केही वर्षअघिसम्म बिरामीलाई सेवा दिँदैआएको जीर्ण पुरानो भवन भत्काएर सोही स्थानमा अहिले चारवटा ब्लकमा अपाङ्गमैत्री सुविधा सम्पन्न आधुनिक अढाइ तले भवन निर्माण सम्पन्न गरिएको छ । सङ्घीय सरकारको सहयोगमा भ्याट बाहेक २१ करोड ९८ लाख ३७ हजार ८१३ रुपियाँ लागतमा हनुमान कन्स्ट्रक्सनले २०७६ चैत ७ गते सम्झौता गरी उक्त भवन निर्माण सम्पन्न गरेको अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार २०७७ माघदेखि सुरु भएको भवन निर्माण कार्य कोरोना महामारीका कारण केही ढिलाइ भए पनि पछि छ–छ महिनाका दरले दुई पटक म्याद थप गरी सम्पन्न गरिएको हो । नवनिर्मित भवनको बिहीबार एक समारोहबिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा रहेको ‘सिन्धुली अस्पताल’ पहिले सीमित चिकित्सक र जीर्ण संरचनाबाट सेवा दिँदै आएकोमा पछिल्लो समय आफ्नो स्वरूप फेर्दैआएको छ । अस्पताललाई ५० शथ्याबाट विस्तार गरी एकसय शथ्याको प्रादेशिक अस्पताल बनाइएको भए पनि भौतिक संरचना र जनशक्ति अझै अभावका कारण हाल करिब ८५ शथ्या मात्र सञ्चालनमा रहेको छ ।

अस्पतालमा हाल १५ जना विशेषज्ञसहित २४ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालका चिकित्सक सुशान्तकुमार खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विशेषज्ञ चिकित्सकका तीन दरबन्दी रिक्त छन् भने नौ जना मेडिकल अधिकृत सबै कार्यरत छन् । विशेषज्ञ चिकित्सक र अझै भौतिक पूर्वाधारको अभावका कारण अस्पतालको सेवा प्रभावित हुँदैगएको छ ।’

एनेस्थेसिया चिकित्सकको दुई दरबन्दीमध्ये एक दरबन्दी खाली छ । सिटी स्क्यान मेसिन सञ्चालनमा रहे पनि रेडियोलोजिस्ट चिकित्सक दुई वर्षदेखि अभाव रहेको छ । हाल काठमाडौँको अस्पतालसँग समन्वय गरेर सिटी स्क्यान सेवा दिइँदै आएको अस्पताल विकास समितिका अध्यक्ष शतिषचन्द्र ढकाल बताउनुहुन्छ ।

त्यस्तै, नाक कान, घाँटी, छाला तथा मानसिक रोगका विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि चिकित्सक नहुँदा सेवा दिन सकिएको छैन । चिकित्सकका लागि बसोबास गर्ने क्वाटरको समेत अभाव रहेको अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक करिब चारसय हाराहारीमा ओपीडी र आकस्मिक सेवाका बिरामी आउने गरेका छन् । हाल हड्डी, मेडिसिन, सर्जरी, स्त्रीरोग, दन्त, बाल रोग लगायतका सेवासँगै गाइनो, एपेन्डिसाइटिस, हर्नियाँ, हाइड्रोशील तथा हड्डीसम्बन्धी शल्यक्रिया जिल्लामै हुँदैआएको छ ।

बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएसँगै सिन्धुली अस्पताललाई कम्तिमा पनि पूर्ण रुपमा एकसय शथ्याको क्षमतामा सञ्चालन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासी बताउँछन् । पाँच वर्षअघि टिनको छानो भएको एक तले जीर्ण भवनबाट सेवा लिँदै आएका जिल्लावासी अहिले अस्पतालको बदिलँदो रूप देखेर उत्साहित बनेका छन् ।

कमलामाई नगरपालिका –४ का सेवाग्राही बलराम अधिकारी भन्नुहुन्छ, ‘पहिले सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो । अहिले जटिल समस्या बाहेकका अधिकांश उपचार जिल्लामै पाउँदा सेवाग्राही खुसी छन् । भवन आकर्षक बनेको छ, अब विशेषज्ञ चिकित्सक थपिए अझ राम्रो हुने थियो ।’