• ९ पुस २०८२, बुधबार

नेता कार्यकर्तालाई कार्यक्षेत्र फर्कन पोखरेलको निर्देशन

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल जुम बैठकमार्फत नेता कार्यकर्ताहरुसँगको छलफलमा ।

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ८ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले महाधिवेशनमा भाग लिन काठमाडौं आएका नेता कार्यकर्तालाई आफ्नो कार्यक्षेत्र फर्कन निर्देशन दिनुभएको छ। मगलबार प्रदेश कमिटीको र जिल्लाको सचिवालयका सदस्यहरुलाई महाधिवेशनको सन्देश सन्दर्भमा भर्चुअल सम्बोधन गर्दै उहाँले सो निर्देशन दिनुभएको हो । 

‘महाधिवेशनका लागि काठमाडौं आएर अझै यतै बसिरहनु भएकाहरुलाई कार्यक्षेत्र फर्किन भन्दै महासचिव पोखरेलले भन्नुभयो  ‘महाधिवेशनको सन्देश,नेतृत्व छान्न गरेको उन्नत लोकतान्त्रिक अभ्यासका बारेमा कार्यकर्तालाई बताउनुहोस ।’  मंसिर २७ गतेबाट सुरु भएको ११ औं महाधिवेशन पुस ३ गते सकिएको थियो । 

महाधिवेशनाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई पनि उहाँले कार्यक्षेत्रमा गएर काम गर्न निर्देशन दिनुभएको छ । महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजनको जिम्मा सचिवालयलाई दिएकोले विगतका कामको मूल्यांकनका आधारमा जिम्मेवारी दिइने बताउनुभयो ।

पार्टीले जिल्ला जिल्लामा खबरदारी सभाहरु आयोजना गरिरहेकोले त्यसको तयारी र जनता जुटाउने कार्यमा लाग्न पनि उहाँले मातहतका कमिटीलाई आग्रह गर्नुभएको छ। महासचिव पोखरेलले भन्नुभयो,  ‘प्रदेश र जिल्ला कमिटी कार्यकारी हुन् । कार्यविभावन भएको छैन भनेर नअलमलिन केन्द्रीय सदस्यहरुलाई पनि आग्रह गर्दछु ।’

महासचिव पोखरेलले दोस्रो विधान महाधिवेशनका दस्तावेज र ११ औं राष्ट्रिय महाधिवेशनका सन्देश लिएर जनतामा जान भन्नुभएको छ । नयाँ सन्देशसहित जनतामा जाँदा एकैचोटी दुईवटा तयारी हुने पोखरेलले बताउनुभयो । महासचिव पोखरेलले कतिपय जिल्लाका अध्यक्षहरु केन्द्रीय नेतृत्वमा प्रतिष्पर्धा गरेका कारण उनीहरुको पद स्वत रिक्त भएकोले त्यस्ता जिल्लाहरुले पनि पार्टी कामलाई असर नपर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।