राममणि दाहाल
हेटौँडा, चैत २४ गते । बागमती प्रदेशसभाको १७ औँ अधिवेशन मङ्गलबारबाट सुरु हुँदै छ । हेटौँडा उपमहानगपालिका वडा नम्बर २ स्थित हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको मुख्यमन्त्री सभाहलमा अपराह्न ४ बजे बैठक बस्ने गरी अधिवेशन आव्हान गरिएको छ ।
हेटौँडा १० मा रहेको प्रदेशसभा सचिवालयसहितको सभाहल गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि नौ महिनापछि प्रदेश सभाको बैठक बस्न लागेको हो ।
प्रदेश सभाको बैठक गत साउन २७ मा बसेपछि बोलाउने तयारी गरिपनि विविध कारणले बस्न सकेको थिएन ।
बागमती प्रदेशसभाकी उपसभामुख अपसरा चापागाईँले प्रदेश सभाको आफ्नै हलको अभावमा मुख्यमन्त्री हलमा प्रदेश सभा बैठक सञ्चालन गर्न लागेको बताउनुभयो ।
मुख्यमन्त्री हलसमेत जेनजी आन्दोलनमा केही जलेकोमा उक्त भवनको सामान्य मर्मत गरेर प्रदेशसभा बैठक बस्ने तयारी गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘प्रदेशसभा भवनमा जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रुपमा क्षति भएपछि प्रदेश सभाको बैठक आज मङ्गलबारदेखिको मुख्यमन्त्री सभाहलमा अस्थायी रुपमा सञ्चालन गर्न लागिएको हो । नयाँ भवन निर्माण नभएसम्म मुख्यमन्त्री सभाहलमा अस्थायी रुपमा बैठक सञ्चालन हुने छ ।’’
जेनजी आन्दोलनको क्रममा तत्कालीन सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट गत असोज १ मा राजीनामा दिएपछि उहाँको राजीनामा बारे गत मङ्सिर ४ गते सूचना जारी गरी सार्वजनिक गरिएको थियो ।
सभामुखले दिएको राजीनामा प्रदेश सभा बैठक चलेको अवस्थामा बैठकमा जानकारी गराउने र नचलेको अवस्थामा सार्वजनिक रुपमा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको प्रदेश सभाका सचिव रामकुमार पौडेलले बताउनुभयो ।
पुरानो सचिवालय भवनमा मर्मत सम्भार गरेर सचिवालय, संसदीय दलका कार्यालय र सुरक्षाकर्मी बस्ने व्यवस्था मिलाइएको छ ।
सभाहलका लागि आवश्यक माइकलगायतका सामाग्री भाडामा र जेनेरेटर आन्तरिक मामिला मन्त्रालयबाट व्यवस्था गरिएको छ । टेबुल, कुर्सी र पर्दालगायतका कार्यालय सामग्रीहरू नयाँ खरिद गरी प्रदेश सभा बैठकको लागि तयारी गरिएको उहाँले सुनाउनुभयो ।
प्रदेशसभाको बैठकको कार्यसूची तय गर्न आजै प्रदेश सभाको बैठक बस्नुअघि दिउँसो १ बजे सर्वदलीय बैठक र २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको छ ।
आज मङ्गलबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू वाचन गर्ने, प्रदेश सभा बैठक सञ्चालनका लागि सदस्यहरूको मनोनयन र प्रदेश सभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरूले शुभकामना मन्त्रालय दिने कार्यक्रम रहने गरी कार्यसूची प्रस्ताव गरिनेभएको छ ।
चालु अधिवेशनमा सवारी तथा यातायात व्यवस्था ऐनको उत्तर विधायिकी परीक्षण प्रतिवेदन, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोग र आदिवासी जनजाति आयोगका वार्षिक प्रतिवेदनहरू पेस गरिने भएको छ ।
यस्तै रिक्त सभामुख पदमा नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाइनभएको छ ।
सर्वदलीय बैठकबाट सभामुख चयनको कार्यसूची तय गरी निर्वाचनको सूचना जारी हुने छ ।
सभामुख पद रिक्त रहेको अवस्थामा प्रदेश सभाको बैठक सञ्चालन भएको १५ दिनभित्र निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था रहेको छ ।