• ३० वैशाख २०८२, मङ्गलबार

सकारात्मक सूचकको उत्साह

blog

विश्वकै अर्थतन्त्रमा अहिले कुनै न कुनै सङ्कट देखिएका छन् । सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिका मुद्रास्फीतिको चपेटामा छ । चीनसँगको व्यापार तनावले आयातित वस्तु महँगो हुँदा उपभोक्ता चापमा छन् । सेयर बजारमा ठुलो हलचल पैदा भएको छ । दोहोरो आर्थिक वृद्धि लामो समय कायम गर्न सफल चीनसमेत अमेरिकी उच्च करका कारण सीमित आर्थिक वृद्धिमा रहनु परेको छ । कोभिडबाट माथि उठ्न नपाउँदै रुस र युक्रेनबिचको युद्धले संसारलाई नै महँगीको मारमा पार्‍यो । इन्धनको मूल्य उच्च हुँदा लगानी खुम्चियो । फलस्वरूप सुन जस्ता पहेँलो धातुको सञ्चयले विश्वका केन्द्रीय बैङ्क तथा धनाढ्यहरूलाई आकर्षित गर्न थाल्यो । विश्व अर्थतन्त्रको प्रतिकूल बाछिटा नेपाल जस्ता साना अर्थतन्त्रमा नपर्ने कुरै भएन । न्यून लगानी तथा उत्पादनको घेरामा रहेको नेपाली अर्थतन्त्र माथि उठाउनु सजिलो कार्य होइन पनि । दक्षिण एसियाली मुलुक श्रीलङ्का केही वर्षअघि टाट पल्टिएको परिघटनासँगै नेपालले अर्थतन्त्र जोगाउन धेरै मेहनत गर्नु पर्‍यो । विदेशी मुद्रा सञ्चयलाई उच्च प्राथमिकता दिँदा आयात खुम्चिएर राजस्वमा समेत असर पुग्न गयो । त्यसले आर्थिक शिथिलताको अवस्था उत्पन्न गरेको थियो । यी सबै अवयवबाट गुज्रँदै गएको नेपाली अर्थतन्त्र बिस्तारै लयमा फर्कने यत्न गरिरहेको छ । चालु आर्थिक वर्षको नौ महिनाको तथ्याङ्कले अर्थतन्त्रको सूचकाङ्क सकारात्मक देखाएका छन् । तीव्र र उच्च आर्थिक वृद्धिका निम्ति यी सूचकाङ्क पर्याप्त नभए पनि गतिशील अर्थतन्त्रको नयाँ दिशा पहिल्याउन अर्थतन्त्रका मौजुदा सूचक सन्तोषजनक भन्न सकिन्छ ।

केन्द्रीय बैङ्कको तथ्याङ्कमा अर्थतन्त्रका महत्वपूर्ण सूचक सन्तोषजनक देखिएको हो । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार अर्थतन्त्रका प्रायः परिसूचक सकारात्मक देखिएका छन् । चालु आव २०८१/८२ को साउनदेखि चैतसम्मको नौ महिनामा मूल्यवृद्धि न्यून विन्दुमा देखिएको छ । चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहन गयो । अघिल्लो वर्ष सोही अवधिमा मुद्रास्फीति ४.६१ प्रतिशत थियो । सरकार तथा केन्द्रीय बैङ्कले मूल्यवृद्धिलाई छ प्रतिशतमा सीमित गर्ने लक्ष्यभन्दा पनि यो न्यून विन्दु हो । न्यून मूल्यवृद्धिले उपभोक्तालाई महँगीको मारबाट जोगाउँछ । अझ महत्वपूर्ण पक्ष त के छ भने यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत मात्र छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीतिसमेत ३.९० प्रतिशत मात्र छ । यसले उपभोक्तालाई दैनिक जीवनमा राहत मिल्न गएको देखिन्छ । यो अवधिमा विष्रेषण आप्रवाह १० प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । विदेशी मुद्राको भाउलगायतका कारण विप्रेषणमा ठुलो वृद्धि नभएको हुन सक्छ । नेपाली बैङ्क तथा वित्तीय संस्थामा न्यून ब्याजदरको प्रभावसमेत विप्रेषणमा परेको हुन सक्ने देखिन्छ ।

सरकारी ढुकुटीमा विदेशी मुद्राको सञ्चिति राम्रो देखिएको छ । अघिल्लो आवको अन्त्य अर्थात् २०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई २०८१ चैत मसान्तसम्म २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ । यसले चालु खातामा समेत सकारात्मक प्रभाव पारेको छ । गत चैतसम्ममा चालु खाता दुई खर्ब १० अर्ब २२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोड रुपियाँ मात्र बचतमा थियो । बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ५.७ प्रतिशतले बढेको छ । यसले तरलता वृद्धि भइरहेको देखाएको छ । तथापि निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ । निक्षेपभन्दा कर्जाको ब्याजदर बढ्दै जानु लगानीका दृष्टिले सकारात्मक छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेकाले लगानीका निम्ति पर्याप्त बजार देख्न सकिन्छ । उच्च आर्थिक वृद्धिका निम्ति पुँजी महत्वपूर्ण छ । मौजुदा तरलता सदुपयोग गर्न लगानीका निम्ति नीतिगत सुधार अपेक्षित हुन सक्छ ।