• २२ असार २०८२, आइतबार

खानेपानी पुगेपछि स्थानीय हर्षित

blog

त्रिवेणी नगरपालिका–२, चौसालटोल खानेपानी मुक्त घोषणा अभियान कार्यक्रमका सहभागी ।

शेरबहादुर सार्की 

बाजुरा, असार २२ गते । बाजुराको त्रिवेणी नगरपालिका वडा–२, चौसालवासीको घरको आँगनमै खानेपानी पुगेपछि यहाँका स्थानीयवासी हर्षित भएका छन् ।

“एक घर एक धारा हाम्रो पहिचान, सुरक्षित खानेपानीयुक्त समुदाय हाम्रो अभियान” भन्ने मूल नारासाथ यूनिसेफ, नगरपालिका, स्थानीयको जनश्रमदान गरी ३९ लाख ५१ हजार पाँचसय रुपियाँमा चौसालवासीको घरको आँगनमा खानेपानी पुगेपछि  चौसालवासी हर्षित भएका हुन् ।

त्रिवेणी–२, चौसाल टोलमा झण्डै ८० घर परिवार बसोवास गर्दैआएका छन् । पहिला यी टोलका स्थानीयलाई खानेपानीको अभाव थियो । अहिले त्यो टोलमा ६२ वटा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थानीयको त्यो समस्या हटेको त्रिवेणी नगरपालिकाले जनाएको छ ।

गाउँमा खानेपानी नहुँदा नुहाउन तथा शौचालय जान समस्या हुन्थ्योे । यतिबेला गाउँमा झण्डै ६२ वटा खानेपानीको धारा निर्माण भएपछि यहाँको स्थानीयको त्यो सबै समस्या हटेको चौसाल खानेपानी उपभोक्ता समूहका अध्यक्ष भङ्गे बुढाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो टोलमा पहिलादेखि खानेपानीको समस्या हुँदैआएको थियो । यतिबेला नगरपालिका र युनिसेफको आर्थिक सहयोगमा ६२ खानेपानीका धारा निर्माण भएका छन् ।”

अहिले यी निर्माण भएका सबै धाराबाट सफा र स्वच्छ खानेपानी खान पाएपछि यहाँका स्थानीयको पहिला खोला र कुवाँको धमिलो पानी खानुपर्ने समस्या हटेको बुढाले बताउनुभयो ।

त्रिवेणी नगरपालिका–२, चौसालटोल लामो समयदेखि खानेपानीको पहुँचबाट वञ्चित हुँदैआएको थियो । यतिबेला त्यो टोल खानेपानीको पहुँचमा रहेको त्रिवणी–२ का वडाध्यक्ष वीरबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “२०८१ सालको वैशाखमा चौसाल खानेपानी उपभोक्ता समूहले खानेपानी निर्माण सुरु गरेको थियो । खानेपानीको निर्माण कार्य सुरु गरेको झण्डै चार महिनामा यहाँका उपभोक्ता समूहले खानेपानी निर्माणको काम सम्पन्न गरेको हो ।”

यसरी खानेपानी निर्माणको काम सुरु गरेको चार महिनामै काम सम्पन्न गरेसँगै अहिले यो टोललाई यतिबेला खोनेपानीमुक्त टोल घोषणा गरेको हो, अध्यक्ष विकले बताउनुभयो ।

यहाँका स्थानीयको समस्या विस्तारै समाधान हुँदैआएको त्रिवेणी नगरपालिका उपप्रमुख कमला नौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय यहाँका अधिकांश वडा खानेपानीको पहुँचमा छ । केही वडामा अझै खानेपानी पुगेको छैन् ।” 

आगामी वर्षमा यहाँका सबै वडालाई खानेपानीमुक्त बस्ती घोषणा गर्ने यहाँका सबै बस्तीमा खानेपानी निर्माण कार्य सम्पन्न गर्नेगरी नगरपालिकाले अभियान सुरु गर्दै आएको उपप्रमुख न्यौपानेले बताउनुभयो ।