• २२ असार २०८२, आइतबार

कञ्चन गाउँपालिका ५ का ४५१ परिवारले पाए जग्गाधनी पुर्जा

blog

उपप्रधान एवं अर्थमन्त्री पौडेल ९८ वर्षीय भानुभक्त उपाध्यायलाई जग्गाको पुर्जा वितरण गर्दै । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, असार २२ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आज रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित एक समारोहका बिच ४ सय ५१ जना अव्यवस्थित बसोवासीलाई जग्गाको पुर्जा वितरण गर्नुभएको छ ।

उहाँले ९८ वर्षीय भानुभक्त उपाध्यायलाई जग्गाको पुर्जा दिदै जग्गाधनी पुर्जा वितरणको सुरुवात गर्नुभयो । 

कञ्चन-५, गरगरेमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले अव्यवस्थित बसोवासी र भूमिहीन सुकुम्वासीलाई जग्गाको मालिक बनाउने प्रतिबद्धता अनुसार काम गरिररहेको बताउनुभयो । उहाँले वर्तमान सरकारले मुलुकको समग्र समस्याको समाधान गर्ने सङ्कल्प बोेकेको  बताउँदै त्यही समस्यामध्येको एक सुकुम्वासी समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो । 

सरकारले सबै सुकुम्वासीलाई जग्गाको मालिक बनाउने प्रण गरेको बताउँदै उपप्रधान एवं अर्थमन्त्री पौडेलले कांग्रेस र एमालेको गठबन्धन सरकार २०८४ को आम निर्वाचनसम्मै जाने उल्लेख गर्नुभयो । उहाँले सरकारले सुकुम्वासी समस्या दिगोरूपमा समाधान गर्ने उल्लेख गर्दै सरकारको प्रमुख प्राथमिकतामा यो समस्या पनि रहेकोले अब यो समस्या विस्तार समाधान हुँदै जाने बताउनुभयो । 

समाजमा राम्रो कुरा भएको भए पनि केही भएन भन्ने नकारात्मक सोच र प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उपप्रधान एवं अर्थ मन्त्री पौडेलले सकारात्मक सोँचका साथ अघि बढे हरेक समस्याको दिर्घकालीन समाधान खोज्न सहज हुने बताउनुभयो । 

कार्यक्रममा रूपन्देही क्षेत्र नंं ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सरकारले सुकुम्वासी समस्याको समाधानका लागि गरेको प्रयासका कारण आज कञ्चनका स्थानीयले जग्गाको लालपुर्जा पाउन सफल भएको बताउँदै लालपुर्जा नपाएकाहरूको प्रक्रिया सुरु भैसकेकोले छिटै नै लालपुर्जा पाउने विश्वास दिलाउनुभयो । 

पूर्व सांसद भरतकुमार शाहले रूपन्देही ५ का जनतालाई लालपुर्जा वितरण गर्ने आफ्नो पहिलेदेखिको सपना भएको बताउँदै त्यो सपना पूरा भएको उल्लेख गर्नुभयो । 

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले लामो समयको प्रयासका कारण लालपुर्जा वितरण गर्न सफल भएको बताउँदै यसमा सबै राजनैतिक दलको साथ र सहयोगले सम्भव भएको बताउनुभयो ।