सुधा देव
भारदह(सप्तरी), असार २२ गते । सप्तरीको भारदह-हनुमाननगर राजविराज सडक खण्ड अन्तर्गत तिलाठी कोइलाडी-७, मंसापुर सडक खण्डमा स्थानीयले बिहानैदेखि चक्काजाम गरेका छन् ।
ठेकेदारको लापरबाहीले ४ वर्षदेखि सडक अलपत्र परेको सो सडक खण्डमा खाल्डाखुल्डी र धुलो उड्नाले दिनहुँ सर्वसाधारणले समस्या भोग्दै आउनुपरेपछि आक्रोशित सर्वसाधारणले चक्काजाम गरेको स्थानीयले बताएका छन् ।
अधुरो सडक निर्माणका लागि पटकपटक चक्काजाम गर्दा पनि सुनुवाइ नभएपछि पुनः अहिले चक्काजाम गर्न बाध्यता भएको उनीहरूले बताए ।
सर्वसाधारणको स्वास्थ्य जस्तो संबेदनसिल विषयमा समेत ठेकेदार र सरोकारवाला निकाय मौन भएर बस्नु र पटकपटक आश्वासन दिएर पन्छिनु बाहेक केही नभएकोले स्थानीय आन्दोलनमा उत्रिनु परेको स्थानीय नेता राहुल मण्डलले बताउनुभयो ।
राजविराज सदरमुकाम जोड्ने यो सडक खण्डको साँढे १८ किलोमिटरको बाटो निर्माण काम ठेकेदारको लापरबाहीका कारण ४ वर्षदेखि अलपत्र परेपछि सर्वसाधारणले आवतजावत गर्न सास्ती बेहोर्नुपरेको छ ।
जिल्लाको शभ्मुनाथ नगरपालिकामा रहेको साह इन्जिनियरिङ कन्स्ट्रक्सनले ४ वर्ष अगाडि २५ करोड ७१ लाखमा यो सडक निर्माण कामको ठेक्का लिएर बिचैमा अलपत्र छोडेपछि सडकको अवस्था दिन प्रतिदिन जीर्ण बन्दै गएको हो ।
यस सडक खण्डमा अन्य समयमा धुलो र वर्षाको समयमा हिलोको समस्या सर्वसाधारणले खेप्नुपरेको छ । यस सडकबाट आवतजावत गर्नेहरू दुर्घटनाको जोखिममा रहेको छ ।
ठेकेदारले विभिन्न बहाना लगाएर आलटाल गर्दै आए पनि काम गरेको भुक्तानी लिएर सडकलाई अलपत्र पारेर छोडेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरूणकुमार मण्डलले जानकारी दिनुभयो ।सडक कार्यालय लाहानले ४ वर्ष अगाडि उक्त ठेक्का साह कन्ट्रक्सनलाई लगाएको थियो ।
चक्काजामका कारण त्यस सडकबाट आवतजावत गर्ने सवारी साधन र सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।