• २९ वैशाख २०८२, सोमबार

स्थायी शान्तिको अपेक्षा

blog

दक्षिण एसियामा युद्धको बादल मडारिने कारण आतङ्कवाद थियो । काश्मीरको पहलगाममा दुई साताअघि गत अप्रिल २२ मा आतङ्ककारी हमला भयो । त्यो आततायी घटनामा नेपाली सुदीप न्यौपानेसहित २६ जना मारिए । भारतले पाकिस्तानमाथि आरोप लगायो । आतङ्ककारीलाई पाकिस्तानले आश्रय दिइरहेको आरोप भारतको रह्यो । हमलाको दुई हप्तापछि बुधबार पाकिस्तानभित्रका आतङ्ककारी अखडामा आक्रमण गरेर भारतले जवाफ दिन थाल्यो । पहलगाम घटनाका दोषीलाई विश्वका कुनै पनि कुनामा गए पनि नछोड्ने भारतको अडान आक्रमणमा परिणत हुँदा युद्धको रूप लियो । सैनिक कारबाहीले दुवै देश युद्धमा आमनेसामने भए । आतङ्ककारीको आश्रयस्थल तथा सैनिक अखडामा मात्र केन्द्रित कारबाही भनिए पनि त्यसले दुवै देशका नागरिकले ज्यान गुमाउन पुगे । सैनिक कारबाही युद्धमा रूपान्तरणले दक्षिण एसिया त्रस्त भयो । दक्षिण एसियाका दुई आणविक शक्तिसम्पन्न मुलुक युद्धमा गएपछि संसारै चिन्तित हुन स्वाभाविक थियो । अमेरिकी नेतृत्व यसमा अझ गम्भीर भयो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियाका यी दुई मुलुक युद्धमा जानु उचित होइन भन्दै मध्यस्थताका लागि गर्नुभएको प्रस्तावले ठाउँ पायो । अमेरिकी विदेश मन्त्रालयका सक्रियता बढ्न थाल्यो । फलस्वरूप भारत र पाकिस्तान युद्ध रोक्न सहमत भए । शनिबार स्थानीय समय अनुसार अपराह्न ५ बजे युद्धविराम भयो । सुरुमा पाकिस्तान र पछि भारतले त्यसलाई सार्वजनिक गर्‍यो ।

भारत र पाकिस्तान थप शान्तिवार्ताका निम्ति तयार हुँदै युद्धविराम गर्न सहमत भएका छन् । यो युद्धविरामले तत्कालका निम्ति प्रत्यक्ष सैनिक टकराव टरेको देखिए पनि शङ्काका सम्पूर्ण बादल हटेको छैन । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार यो युद्धविराममा अमेरिकाको भूमिका महत्वपूर्ण देखियो । प्रत्यक्ष रूपमा अमेरिकाको मध्यस्थता स्वीकार नगरिए पनि अमेरिकी भूमिकामा भारत र पाकिस्तानले युद्धविराममा सहमति गर्नु तत्कालका निम्ति ठुलो उपलब्धि हो । छिमेकी मुलुक नेपालका निम्ति यो अझै खुसीको विषय हो । गत बुधबार बिहानी रातमै आरम्भ भएको यो युद्धले दक्षिण एसियामा अशान्तिको आशङ्का पैदा भएको थियो । परस्पर आक्रमणका यी तीन दिनमा दुवै देशमा गहन आर्थिक तथा सामाजिक प्रभाव परेको थियो । अर्थतन्त्र गम्भीर क्षतितिर जाने जोखिम थियो । उदाउँदो अर्थतन्त्र भारतका निम्ति युद्ध कुनै पनि हालतमा प्राथमिकता होइन भने पाकिस्तानको अर्थतन्त्र त यताको केही वर्षदेखि अझ नाजुक छ । युद्धतर्फ गएपछि दुवै देशले शस्त्रअस्त्रमा गर्ने खर्चले अर्थतन्त्र दीर्घकालका निम्ति जोखिममा जान सक्छ । दुवै देशका नागरिक मात्र होइन, समग्र दक्षिण एसिया नै प्रभावित हुनुपर्ने अवस्था आउँछ । नेपालले सीमामा उच्च सतर्कताका साथ भारत र पाकिस्तानबिचको युद्धलाई गम्भीर रूपमा लिई आतङ्कवादविरुद्धको प्रतिबद्धता जनाइसकेको थियो ।

बेलायती औपनिवेशिक अन्त्यसँगै भारतले दुःखद विभाजनको पीडा भोग्नु परेको थियो । मुस्लिम बाहुल्य भूभाग सन् १९४७ मा पाकिस्तानको रूपमा नयाँ देश बन्न गयो । भारत र पाकिस्तानबिच आरम्भदेखि नै सम्बन्ध सुमधुर हुन सकेन । धर्तीकै मनोरम भूभाग कश्मीरलाई लिएर दुवै देशको दाबीले निरन्तर तनाव उत्पन्न गरिरहेको छ । झन्डै आठ दशकको इतिहासमा दुवै मुलुकले अनेक युद्ध लडिसकेका छन् । सैनिक जनशक्ति, बन्दोबस्तीको यन्त्रउपकरण तथा अन्य शस्त्रअस्त्रमा दुवै देशको ठुलो लगानी र विनाश भइरहेको छ । सन् १९७१ मा पूर्वी पाकिस्तानका रूपमा रहेको बङ्गलाभूमि स्वतन्त्र देश बङ्गलादेश भएपछि दुवै देशबिच औपचारिक युद्धविरामसमेत भएको थिएन । त्यसपछिको कारगिल युद्धलगायतले दुवै देशको क्षतिको सीमा छैन । पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ मा आतङ्ककारी हमलापछि युद्धको घाउ फेरि बल्झिँदा संसारलाई चिन्तित बनाएको थियो । दुवै देशले एकअर्काका सैन्य संरचनामा लगातार गरेको प्रहारले युद्ध लम्बिने जोखिम बढाएको थियो । आणविक शक्ति साँचेर राखेका यी दुई मुलुकबिच भएको युद्धविरामले शान्तिको मधुर आशा पलाएको छ । यो युद्धविराम नै सम्पूर्ण रूपमा खुसी होइन । दुवै मुलुकबिच भावी वार्ताको सम्पूर्ण विवरण बाहिर आइसकेको पनि छैन । अबको वार्ता स्थायी शान्तिका निम्ति हुनु पर्छ । भारत र पाकिस्तानको तनावका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को बर्सेनि हुनुपर्ने शिखर सम्मेलन एक दशकदेखि हुन सकेको छैन । कुनै पनि युद्धले मानव सभ्यताको विनाश मात्र गर्छ । त्यसैले दुवै मुलुकबिच सार्थक संवादबाट स्थायी शान्तिको स्थापना अपरिहार्य देखिएको छ ।