• १२ असार २०८१, बुधबार

मातृभाषा पत्रकारितालाई सहयोग गर्न आग्रह

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, असार २१ गते । बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न मातृभाषी पत्रकारले सरकारसँग आग्रह गर्नुभएको छ । मातृभाषामा पत्रकारिता गर्ने पत्रकारको पहिचान हुन नसकिरहेको भन्दै सो क्षेत्रमा कार्यरत पत्रकारले सरकारसँग सो माग गर्नुभएको हो । नेवाः पत्रकार राष्ट्रिय दबूले मंगलबार यहाँ आयोजना गरेको मातृभाषा पत्रकारिता दिवस कार्यक्रममा मातृभाषी पत्रकारले सो माग गर्नुभयो ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मातृभाषा पत्रकारिताको संरक्षणमा राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । सरकारले व्यवस्थापकीय काम गर्ने हो, बाँकी काम मातृभाषी समुदायले नै गर्नुपर्ने हुन्छ उहाँले भन्नुभयो । भाषाको विकाससँगै सम्बन्धित समुदायको लीपिको संरक्षणमा लाग्न पनि आवश्यक रहेको उहाँले सुझाव दिनुभयो । मातृभाषाको संरक्षणबाटै समुदायको भाषा, संस्कृति, संस्कारको संरक्षण हुने र त्यसले सम्बन्धित समुदायको पहिचान जोगाउने काम गर्नेहुनाले मातृभाषालाई जोगाउन अनिवार्य रहेको उहाँले बताउनुभयो ।

मातृभाषी पत्रकारले आफ्नो समुदायको विषयमा मात्र खुम्चिनु उचित नहुने भन्नुहुँदै उहाँले मातृभाषा पत्रकारिताको माध्यमबाट देशको अवस्था, राजनीतिको विषय तथा अन्य पक्षलाई पनि उजागर गर्नुपर्ने उहाँले सुझाउनुभयो । उपप्रमुख डंगोलले मातृभाषा विकासका लागि राज्यमा रहेका जिम्मेवार निकाय र प्रतिनिधिले सकारात्मक भएर देशको मातृभाषालाई जोगाउन योगदान दिनुपर्ने उहाँले बताउनुभयो । देश बहुभाषिक, बहुसांस्कृतिक भएकाले यो पहिचान जोगाउन भाषाको संरक्षण अनिवार्य हुने उहाँले चर्चा गर्नुभयो । 

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले संस्कार, संस्कृतिको संरक्षण गर्न भाषाको संरक्षण अनिवार्य शर्त भएकाले मातृभाषा पत्रकारिता जोगाउन सरकारले आवश्यक सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । नेपालको पहिचान नै बहुभाषिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष मुलुक बनिसकेकाले त्यो पहिचान जोगाउन पनि राज्यले मातृभाषा संरक्षणमा जोड दिनुको विकल्प नरहेको उहाँले बताउनुभयो । मातृभाषा पत्रकारिताले एकातर्फ भाषाको संरक्षण गरिरहेको र अर्कोतर्फ सम्बन्धित समुदायको आवाज सरकारसँग लग्ने र सम्बोधनमा पैरवी गर्ने तथा राज्यको नीति, नियम तथा निर्णयलाई मातृभाषी नागरिकबीच प्रवाह गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । 

राष्ट्रिय दबूको आयोजनामा आयोजित दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलनले दश बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । सम्मेलनले आवश्यक कानुन बनाई राष्ट्रिय रुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन आग्रह पनि गरेको हो । वि.सं १९८२ नेपाल संवत १०४५ बुद्ध जयन्तिका दिन शुरु भएको नेवा मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पुरा हुनेहुनाले २०८२ सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ । 

त्यस्तै, सम्मेलनले मातृभाषाको पत्रकारिता शुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकाशित गर्न माग गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको छ । 

मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारको क्षमता विकासका लागि सरकारी तहबाट “धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” अविलम्ब गठन गर्न माग गर्दै सरकारी स्तरबाट स्थापित प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति, लगायत सरकारी सञ्चार माध्यममा मातृभाषी पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन आग्रह गरेको छ । 

दबूका अध्यक्ष सुरजवीर वज्राचार्यका अनुसार नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको विभिन्न तथ्यहरुबाट पुष्टि भइसकेको सन्दर्भमा श्रेष्ठलाई अबिलम्ब महासंघको संस्थापक अध्यक्ष घोषणा गर्दै इतिहास, तथ्य र प्रमाणहरुको सम्मान गर्न सरोकारवाला पक्षसँग सम्मेलनले माग गरेको छ ।  

कार्यक्रममा अजितमान तामाङ र सुरेशकिरण मानन्धरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि विभिन्न मातृभाषी पत्रकारले टिप्पणी तथा धारणा राख्नुभएको थियो । कार्यक्रममा मधेसी पत्रकार समाजका मोहन सिंह, लिम्बु मातृभाषी पत्रकार विष्णु लिम्बु, मैथिली भाषाी प्रतिनिधि रुपा झा, तामाङ पत्रकार संघका बुद्ध योन्जन तामाङ, नेवा भाषाका नृपेन्द्रलाल श्रेष्ठ,  सुनिल महर्जन, उपेन्द्र प्रधान, शेर्पा सञ्चार समूहका पाशाङ शेर्पा लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।