• १३ साउन २०८१, आइतबार

अस्पताल भवन निर्माण सुस्त

blog

नवराज श्रेष्ठ

रामेछाप, असार २२ गते । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ श-याको अस्पताल निर्माणको काम अहिले बन्द छ । यो अस्पतालको आगामी मङ्सिर ३० गते निर्माण सम्पन्न गर्ने म्यादसहित गत वर्ष भदौ १० गते शिलान्यास गरिएको थियो । तर, शिलान्यास भएको १० महिना कटिसक्दा पनि अस्पताल निर्माणको २० प्रतिशत पनि काम सम्पन्न भएको छैन । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (भवन) रामेछापमार्फत नौ करोड, ३२ लाख, ५० हजार ९८६ रुपियाँको लागतमा निर्माण गर्ने गरी गत वर्ष जेठ ३० गते गाल्वा-लालशुभ मेन्द्रो जेभी काठमाडौँसँग निर्माण सम्झौता भएको थियो । 

तर, निर्माण सम्पन्न गर्नुपर्ने समय सीमा पाँच महिना मात्रै बाँकी रहँदा अस्पताल निर्माण क्षेत्रमा पर्खाल लगाउने र पिल्लरका लागि रड ठड्याउनेबाहेक अरू काम भएको छैन । अस्पताल भवन समयमै निर्माण सम्पन्न गर्न ताकेता गर्दा पनि निर्माण व्यवसायीले नटेरेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले बताउनुभयो । नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालजस्तो संवेदनशील पूर्वाधार निर्माणमा ढिलाइ गरेर निर्माण व्यवसायीले गैरजिम्मेवारीपन देखाएको उहाँले बताउनुभयो । 

मन्थली अस्पतालसहित अहिले जिल्लाका विभिन्न ठाउँमा गरी २१ वटा स्वास्थ्य संस्थाका भवन निर्माणाधीन छन् । सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापमार्फत मन्थली नगरपालिका–१२ मा पाँच शøयाको गेलु प्राथमिक अस्पताल निर्माण भइरहेको छ । २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पले क्षति भएका जिल्लाको चिसापानी, चनखु, डडुवा, गौश्वरा, पिङ्खुरी, मझुवा, खाँडादेवी र खनियाँपानी स्वास्थ्यचौकी निर्माणाधीन अवस्थामा छन् । 

त्यसैगरी भलुवाजोर, सालु, ओख्रेनी, रामपुर, देउराली, हिमगङ्गा, बिजुलीकोट, तिल्पुङ, दुरागाउँ, चुचुरे र कुवँुकास्थलीमा स्वास्थ्यचौकी भवन निर्माण भइरहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार २० वटा स्वास्थ्यचौकी भवन भारतीय सरकारको अनुदान सहयोगमा र खाँडादेवी र देउराली स्वास्थ्यचौकी भवन नेपाल सरकारको लगानीमा निर्माण भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका प्रमुख सुरेशकुमार वाग्लेले बताउनुभयो । जिल्लाभर निर्माण भइरहेका २१ वटा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि ४० करोड २० लाख रुपियाँभन्दा बढी लगानी रहेको उहाँले बताउनुभयो । 

जिल्लामा स्वास्थ्य संस्थाहरूको निर्माणको गतिप्रति आफू सन्तुष्ट नरहेको उहाँले बताउनुभयो । जिल्लामा निर्माण भइरहेको स्वास्थ्य संस्थाहरूको कामको गतिचित्त बुझ्दो छैन, झन् मन्थली अस्पताल निर्माणको काम सुस्त गतिमा छ, काम छिटो गर्न निर्माण कम्पनीलाई ताकेता गरेका छौँ, उहाँले भन्नुभयो ।  उहाँका अनुसार खाँडादेवी र देउराली स्वास्थ्यचौकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मन्थली अस्पतालबाहेक अन्य स्वास्थ्यचौकी निर्माणमा ६० प्रतिशत भौतिक प्रगति भएको छ । मन्थली अस्पतालको भने १५ देखि २० प्रतिशत मात्रै भौतिक प्रगति भएको उहाँले बताउनुभयो ।