भजनी (कैलाली), चैत १ गते । कैलालीको टीकापुर एकतापुर शिविरमा बस्दै आउनुभएकी सुभद्रा चौधरीलाई घरको आँगनमा सुकेका रूखले सधैँ झस्काउने गर्छ । सुकेर जतिबेला पनि ढल्न सक्ने अवस्थामा रहेका ती रूख ढलेपछि कुनै अप्रिय घटना हुने हो कि भन्ने त्रासले उहाँलाई झस्काउने गरेको हो । अझै गर्मीयाम सुरु भएसँगै आउने हावाहुरीले चौधरीलाई चिन्तित बनाएको छ ।
“आँखै अगाडि रूख ढलेर धेरैको ज्यान गएको,” चौधरीले भन्नुभयो, “ती घटनाको त्रास मनभित्र अझै छ ।” बस्नका लागि अर्को कुनै आश्रय नभएकी उहाँ त्रास र बाध्यतालाई दुई दशकदेखि झेल्दै आएको बताउनुहुन्छ । चौधरीले बर्सातको किरा फट्याङ्ग्राको त्रास, हिउँदको चिसो अनि गर्मीयामको हावाहुरीको डरले कहिल्यै नछोडेको बताउनुभयो ।
माटोले पोतेका, कतै ब्लकले चिनेका त कतै काचो इँट्टाले बनेका घर असुरक्षित छन् । कुन बेला कस्तो विपद् आइपर्छ भन्न त्यस क्षेत्रका नागरिकलाई थाहै हुँदैन । “सर्पदंशको जोखिम यसै शिविरमा छ, बर्सातको समयमा डुबान तथा हिलाम्मे सडकको सास्ती हामीले खेपिरहेका छौँ, अब गर्मीयाम सुरु हुन लागेसँगै हावाहुरी तथा आगलागीको जोखिम त्यस्तै छ”, स्थानीय कल्याण विश्वकर्मा भन्नुहुन्छ, “त्रास कति छ भनेर साध्य छैन, छोडेर जाने ठाउँ छैन, अन्योलको बसाइँ छ ।”
भर्खरै सकिएको निर्वाचनले भने शिविरमा बस्दै आएका मुक्तकमैया सुकुम्वासीलाई आशा जगाएको छ । विगतमा पटकपटक आश्वासन पाउँदै आएका मुक्तकमैया सुकुम्वासी यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ बहुमत ल्याएपछि स्थायी बसोबासको व्यवस्था हुने विश्वास उहाँहरुको छ ।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गामा सुकेका सयौँ रूख छन् । छिटपुट रूख हरियो देखिए पनि अधिकांश रूख सुकेका छन् । विसं २०६२ मा अतिक्रमण हुनुभन्दा पहिले जङ्गल रहेको सो क्षेत्र दुई दशकमा उजाड बनिसकेको छ । कानुनी अड्चनका कारण कैयौँ पटक सुकेका रूख काट्ने प्रक्रिया अघि बढाइए पनि सफलता नमिलेको क्याम्पस प्रमुख ढविन्द्र रावल बताउनुहुन्छ । क्याम्पसले सङ्कलन गरेको काठ पनि अझै बिक्री गर्न पाएको छैन । काठ बिक्री गर्न नसक्दा सङ्कलित करोडौँ मूल्य बराबरको काठ कुहिएर काम नलाग्ने स्थितिमा पुगेको प्रमुख रावल बताउनुहुन्छ ।
क्याम्पसको मातहतमा रहेको जग्गामा साल र साजका सयौँ रूख सुकेका छन् । ती रूखको संरक्षण न क्याम्पसले गर्न सकेको छ, न सबडिभिजन वन कार्यालयले नै ।
“यस्तो कानुनी जटिलता छ्, न सङ्कलन गर्ने अनुमति पाइन्छ, न बिक्री गर्ने,” क्याम्पस प्रमुख रावलले भन्नुभयो, “सुकेको काठ सङ्कलन गर्न लाग्दा अख्तियारमा मुद्दासमेत प¥यो ।”
त्यसबेला वर्षमा एकपटक सुकेका र ढलेपडेका रूख सङ्कलन गर्ने भनिएको थियो । पछि सङ्कलन भएको काठ बिक्री गरेर भएको आम्दानी पनि सरकारको खातामा जाने भनेपछि क्याम्पसले चासो दिन छोड्यो । “हामीले सङ्कलन गरेर बिक्री गर्दा हुने आम्दानी सरकारको खातामा हाल्न पर्ने भएपछि चासो दिन छोडेका हौँ,” क्याम्पस प्रमुख रावलले भन्नुभयो, “कम्तीमा केही प्रतिशत मात्रै भए पनि क्याम्पसलाई दिने भनेको भए सुकेका रूख सङ्कलन र बिक्री वितरणका लागि थप मिहेनत गर्न सकिन्थ्यो ।”
टीकापुरको एकता शिविरबाहेक जिल्लाका अन्य कतिपय क्षेत्रमा समेत सुकेका रूख ढलेर मानव बस्तीमा क्षति हुने अवस्था छ । गर्मीयाममा तीव्र वेगमा चल्ने आँधीबेहरीका कारण कतिपय बस्तीका घरमाथि रूख खस्दा नागरिकको ज्यान जाने घटना हुँदै आएका छन् ।
डिभिजनल वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले हावाहुरीले सुकेका रूख ढल्ने जोखिम जिल्लाका अन्य क्षेत्रको बस्तीमा समेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो पटक संशोधन गरिएको वन ऐन नियमावलीले पालिका तहको सरकारलाई डिभिजनल वन कार्यालयसँग समन्वय गरेर सुकेका रूख काट्न पाउने अधिकार दिएको छ ।” रासस