यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) चैत १ गते । बर्दिया राष्ट्रिय निकुञ्जभित्र खरखडाइका लागि जाँदा बेपत्ता भएका व्यक्ति मृत फेला परेका छन् । मृत्यु हुनेमा बाँसगढी नगरपालिका –८ अस्नेरी बस्ने ६२ वर्षिय प्रेमबहादुर ओली रहेका छन् ।
निकुञ्जभित्र खर काट्नका लागि फागुन २५ गते गएका ओली घर नफर्केपछि खोजी सुरु गरिएको थियो । प्रहरी, निकुञ्ज कर्मचारी र स्थानीयवासीको टोली ओलीलाई खोज्न २६ गतेदेखि २९ गतेसम्म लगातार गएका थिए ।
२९ गते करिब तीनसय जना स्थानीयवासीसहित खोजविन गर्दा ओली मृत फेला परेको प्रहरीले जनाएको छ । ओलीको शव भए नजिकै पुग्दा सोही ठाउँका ५८ वर्षिय यामबहादुर खत्रीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ । हाल उहाँको बाँकेको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले शव निकुञ्जभित्र फेला परेको बताउँदै घटनास्थल मुचुल्का बनाइ शवको बर्दिया अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको बताउनुभयो । मृतकको साथबाट खरखडाइका लागि गएको पुर्जी समेत फेला परेको उहाँले बताउनुभयो ।
ओलीलाई जंगली जनावरले मारेको आशंका गरिएको कोल्डाडा उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर रोकायले बताउनुभयो ।