केशब राज भट्ट
वाशुलिङ बैतडी, चैत १ गते ।चैत महिना सुरु भएसँगै बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत ‘भिटौलो’ पर्व सुरु भएको छ ।
विशेषगरी बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ लगायतका जिल्लामा चैत महिनाभर माइती पक्षका दाजुभाइले विवाहित छोरीबहिनीलाई उनीहरूको घरमै पुगेर भेट्ने चलन रही आएको छ ।
भिटौलो सुदूरपश्चिमको पुरानो सांस्कृतिक परम्परा हो । यस अवसरमा दाजुभाइ तथा माइती पक्षका आफन्तले मीठोमसिनो परिकार, फलफूल, कपडा तथा अन्य सामग्री लिएर छोरीबहिनीको घरमा पुग्ने गर्छन ।
भेटघाटसँगै एकदुई दिन ससुरालीमै बसेर परिवारबीच दुखसुख साटासाट गर्ने चलन रहेको स्थानीय संस्कृतिका जानकार धीर बहादुर बिष्टले बताउनुहुन्छ ।
पहाडबाट तराईतिर बसाइँ सरेका परिवारले पनि यो परम्परालाई निरन्तरता दिँदै आएका छन । टाढा बसोबास गर्नेहरू पनि चैत महिनामा सकेसम्म छोरीबहिनीलाई भेट्न जाने प्रयास गर्छन ।
समाजमा चैत महिनाभित्र दिदीबहिनीलाई भेट्न नजाँदा अपशकुन हुने विश्वास पनि रहेको बिष्टले बताउनुभयो ।यही कारणले दाजुभाइ कहिले भेट्न आउलान् भन्ने प्रतीक्षामा दिदीबहिनीहरू बाटो कुर्ने चलन अझै जीवित छ ।
आफ्ना दाजुभाइ नहुने महिलालाई छिमेकी वा गाउँका अरू दाजुभाइले पनि गएर भेट्ने परम्परा रहेको पाइन्छ ।भिटौलोले माइतीघरबाट पराइ घर गएकी दिदीबहिनीप्रति माया, सम्मान र आत्मीयता प्रकट गर्ने अवसर प्रदान गर्ने विश्वास गरिन्छ ।
यसले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सांस्कृतिक पहिचानका रूपमा लिइन्छ ।पहिले भिटौलो जाँदा घरमै उपलब्ध परिकार, अन्नबाली तथा घरेलु सामग्री लिएर जाने चलन थियो ।
पछिल्लो समय भने बजारबाट किनेर लैजाने सामग्रीको प्रयोग बढ्दै गएको पाटन नगरपालिका ३ का स्थानीय हेमन्ती पन्तले बताउनुभयो ।
भिटौलो पर्वका कारण चैत महिनाभर स्थानीय बजारमा पनि चहलपहल बढ्ने गरेको स्थानीय व्यापारी बिरेन्द्र भट्टले बताउनुभयो।
परम्परादेखि चल्दै आएको यो चलन आज पनि सुदूरपश्चिमका समुदायमा दाजुभाइ र दिदीबहिनीबीचको मायाको प्रतीकका रूपमा जीवित रहेको शैल्यशिखर नगरपालिका ४ का स्थानीय धाना भट्टले बताउनुभयो ।