खेमराज सापकोटा
विराटनगर, चैत १ गते । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति भारतिय नम्बर प्लेट (विआर ३८ एपी ४२८२) नम्बरको मोटरसाइकल अनियन्त्रित भई को २ स १६२ नम्बरको कवाडी बोकेको ईभी लोडरमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१८ बस्ने ३० वर्षीय अजय मण्डल गम्भीर घाइते हुनुभएको थियो । मोरङ प्रहरीले दिएको जानकारी अनुसार दाहिने हात र दाहिने खुट्टा भाँचिएको अवस्थामा प्रहरी टोलीले उद्धार गरी तत्काल विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका लागि लगेको थियो ।
प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नोबेल अस्पताल पठाइ पनि उपचारकै क्रममा आइतबार बिहान चिकित्सकले मण्डललाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा कवाडी बोकेको ईभी लोडर र चालक विराटनगर–१८ बस्ने १९ वर्षीय मोहम्मद मोसिमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।