• १ चैत २०८२, आइतबार

होर्मुज मार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको आह्वान

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

मनामा, चैत १ गते । मध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर देखिन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यको सुरक्षा सुनिश्चित गर्न अन्य राष्ट्रलाई आफ्ना युद्धपोत पठाउन आग्रह गर्नु भएको छ । 

विश्व तेल आपूर्तिको ठूलो हिस्सा बग्ने यस सामरिक समुद्री मार्ग इरानबाट हुन सक्ने आक्रमणको जोखिमका कारण आइतबारसम्म पनि प्रभावकारी रूपमा अवरुद्ध जस्तै बनेको छ । फेब्रुअरी २८ मा अमेरिका–इजरायल गठबन्धनले इरानविरुद्ध सैन्य अभियान सुरु गरेयता क्षेत्रमा तीव्र बमबारी जारी छ । यद्यपि वासिङ्टनले इरानको सैन्य क्षमता लगभग पूर्णरूपमा ध्वस्त पारेको दाबी गरे पनि तेहरानले उक्त दाबी अस्वीकार गर्दै आफ्नो प्रतिकार क्षमता कायम रहेको बताइरहेको छ ।

होर्मुज जलडमरूमध्यबाट सामान्य अवस्थामा विश्वको झन्डै पाँचौँ भाग तेल आपूर्ति पार हुने गर्छ । तर इरानी आक्रमणको खतरा र ढुवानी अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ, जसले विश्व अर्थतन्त्रमा समेत दबाब सिर्जना गरेको छ । शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानको सम्भावित अवरोधबाट प्रभावित राष्ट्रहरूले संयुक्त रूपमा समुद्री सुरक्षा बल तयार पार्नुपर्ने बताउनुभयो । 

उहाँले विशेष गरी चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायतलगायत देशलाई यस क्षेत्रमा युद्धपोत पठाएर जलडमरूमध्य खुला र सुरक्षित राख्न सहयोग गर्न आग्रह गर्नु भएको छ । त्यसै क्रममा अमेरिकी सेनाले तटीय क्षेत्रमा इरानी सैन्य गतिविधिलाई लक्षित गरी लगातार आक्रमण गरिरहेको उहाँले बताउनुभयो । अमेरिकी सेनाले शुक्रबार इरानको प्रमुख तेल निर्यात केन्द्र रहेको खर्ग टापुमा आक्रमण गरेको थियो । ट्रम्पका अनुसार उक्त कारबाहीमा ऊर्जा संरचनालाई जोगाउँदै इरानी सैन्य लक्ष्य ध्वस्त पारिएको छ ।

इरानले भने आफ्ना तेल संरचनामा थप आक्रमण भए अमेरिका सम्बन्धित तेल तथा ऊर्जा कम्पनीलाई कडा प्रतिकार गरिने चेतावनी दिएको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिका र इजरायलका आक्रमणबाट हालसम्म एक हजार २०० भन्दा बढी मानिस मारिएका छन्, यद्यपि उक्त तथ्याङ्क स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका अनुसार करिब ३२ लाख मानिस इरानभित्रै विस्थापित भएका छन्, जसमा धेरैजसो राजधानी तेहरान र अन्य सहरबाट सुरक्षित स्थानतर्फ सरेका छन् ।

पेन्टागनका अनुसार अमेरिकी र इजरायली सेनाले इरानभित्र १५ हजारभन्दा बढी सैन्य लक्ष्यमा प्रहार गरिसकेका छन् । यसैबिच अमेरिकी जल-स्थल आक्रमण जहाज युएसएस त्रिपोली र करिब दुई हजार ५०० समुद्री सैनिक क्षेत्रतर्फ पठाइएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । यसबिच इरानका विभिन्न प्रान्तमा नयाँ आक्रमण जारी रहेको स्थानीय सञ्चार माध्यमले बताएका छन् । फार्स समाचार एजेन्सीका अनुसार इस्फहानको एक औद्योगिक स्थलमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको बताइएको छ, तर एएफपीले यसलाई स्वतन्त्ररूपमा पुष्टि गर्न सकेको छैन ।

अमेरिकी सेनाले युद्धका क्रममा हालसम्म १३ सैनिक गुमाइसकेको जनाएको छ । तीमध्ये इराकमा दुर्घटनाग्रस्त इन्धन भर्ने विमानमा सवार छ जना सैनिक पनि छन्, जसको मृत्यु शत्रु आक्रमण नभई दुर्घटनाका कारण भएको अधिकारीहरूले बताएका छन् । इरानमा युद्ध सुरु भएको पहिलो दिनमा सर्वोच्च नेता अली खामेनी मारिएपछि उहाँका छोरा मोजतबा खामेनीलाई नयाँ सर्वोच्च नेता घोषणा गरिएको थियो ।

यद्यपि उहाँ सार्वजनिकरूपमा देखिनुभएको छैन र घाइते भएको रिपोर्ट आएका छन् । इरानी अधिकारीहरूले भने नेतृत्वमा कुनै समस्या नरहेको बताएका छन् । तेहरानले क्षेत्रभरि आफ्नो आक्रमण क्षमता देखाउँदै इजरायल र खाडी क्षेत्रतर्फ मिसाइल र ड्रोन प्रहार जारी राखेको छ । सप्ताहन्तमा जेरुसेलममा विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारले बताएका छन् । संयुक्त अरब इमिरेट्स, कुवेत र साउदी अरेबियाले पनि आफ्ना वायु प्रतिरक्षा प्रणालीले मिसाइल वा ड्रोन अवरुद्ध गरेको जानकारी दिएका छन् ।

यसै क्रममा संयुक्त अरब इमिरेट्सको प्रमुख तेल भण्डारण तथा निर्यात केन्द्र फुजैराह बन्दरगाह क्षेत्रबाट कालो धुवाँ उठेको देखिएको छ । इरानको सेनाले त्यहाँका नागरिकलाई बन्दरगाह क्षेत्रबाट टाढा रहन चेतावनी दिएको थियो । इराकमा रहेको अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको सुरक्षा स्रोतले बताएका छन् । युद्ध सुरु भएयता यस्तो दोस्रो आक्रमण भएको हो । साथै इराकी कुर्दिस्तानस्थित एमिराती वाणिज्य दूतावास पनि एक साताभित्र दोस्रो पटक निशानामा परेको बताइएको छ । 

बगदादस्थित अमेरिकी अधिकारीहरूले आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेका छन् । कुवेतमा भएको ड्रोन आक्रमणले अन्तर्राष्ट्रिय विमानस्थलको राडार प्रणालीमा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतारले दोहाका केही भाग खाली गराउँदै दुई मिसाइल अवरोध गरेको जनाएको छ, जहाँ विस्फोटको आवाज सुनिएको थियो ।

इरानको रिभोलुसनरी गाड्र्सले साउदी अरेबियाको अल–खर्ज सैन्य आधारमा तैनाथ अमेरिकी सेनामाथि क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । साउदी पक्षले आक्रमण पुष्टि नगरे पनि त्यहाँतर्फ गइरहेका केही ब्यालेस्टिक मिसाइल अवरुद्ध गरिएको जनाएको छ । युद्धको प्रभाव खेलकुद क्षेत्रमा समेत परेको छ । मोटर खेलकुद प्रशासकीय निकायले अप्रिलमा हुने बहराइन र साउदी अरेबियाका प्रमुख अन्तर्राष्ट्रिय कार दौड प्रतियोगिता रद्द गरिएको जनाएको छ ।

यसैबिच अस्ट्रेलियामा भ्रमणमा रहेको इरानी महिला फुटबल टोलीका केही सदस्यले देशमै शरण मागेका छन् । राष्ट्रगान गाउन अस्वीकार गरेपछि स्वदेश फर्केमा उनीहरूलाई ‘देशद्रोही’ ठहर गरिने डरका कारण उक्त कदम चालिएको बताइएको छ । युद्ध क्षेत्र विस्तारिँदै जाँदा तेहरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले इजरायलमाथि आक्रमण सुरु गरेपछि लेबनान पनि द्वन्द्वमा तानिएको छ । इजरायली हवाई तथा स्थल आक्रमणमा कम्तीमा ८२६ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् । 

इजरायलले दक्षिण लेबनानका सयौँ वर्गकिलोमिटर क्षेत्र खाली गर्न आदेश दिँदा लाखौँ मानिस विस्थापित भएका छन् । हिजबुल्लाहले शनिबार राति दक्षिणी लेबनानको खियाम क्षेत्रमा इजरायली सेनासँग प्रत्यक्ष झडप भएको जनाएको छ, जसले क्षेत्रीय युद्ध थप फैलिने चिन्ता बढाएको छ । रासस/एएफपी