काठमाडौँ, चैत १ गते । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सञ्चालन हुने 'उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम' को एघारौँ संस्करण आइतबारदेखि सुरु भएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित एक विशेष समारोहका बीच प्रधान सेनापति महारथी शोकराज सिग्देलले उक्त तालिमको समुद्घाटन गर्नुभयो ।
तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै रक्षा सचिव केदारनाथ शर्माले वर्तमान विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको महत्त्व र आवश्यकता बढ्दै गएको बताउनुभयो । उहाँले यस किसिमको उच्चस्तरीय तालिमले राज्यका विभिन्न निकायहरूबीच सुरक्षाका सवालमा साझा धारणा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस वर्षको तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारजगत्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका गरी कुल ३० जना शिक्षार्थीहरूको सहभागिता रहेको छ ।
वि.सं. २०७२ सालबाट निरन्तर सञ्चालन हुँदै आएको यस तालिमको मुख्य उद्देश्य राष्ट्रिय सुरक्षाका सम्बन्धमा साझा बुझाइ कायम गर्नु र राज्यका संयन्त्रहरूबीच कार्यगत एकता सुदृढ बनाउनु हो । तालिम अवधि २०८२ चैत ०१ देखि चैत १८ गतेसम्म रहेकाे छ।
समारोहमा नेपाल सरकारका सचिवहरू, बलाधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको उपस्थिति थियो । त्यसैगरी त्रिभुवन विश्वविद्यालयका रेक्टर, विभिन्न मन्त्रालयका उच्च पदाधिकारीहरू, रथीवृन्द, अधिकृत तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो ।
शिवपुरीमा आगामी चैत १८ गतेसम्म सञ्चालन हुने यस तालिमले राष्ट्रिय सुरक्षाका विविध आयामहरूमा गहन छलफल र रणनीतिक विश्लेषण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।