वासिङ्टन, फागुन ३० गते। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको खार्ग द्वीपमा अवस्थित हरेक सैन्य ठेगानालाई नष्ट गरेको बताउनुभएको छ।
राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा भन्नुभएको छ, “अमेरिकाको सेन्ट्रल कमान्डले मध्यपूर्वको इतिहासकै शक्तिशालीमध्येको कारबाही पूरा गरेको र उक्त द्वीपमा रहेका हरेक सैन्य ठेगानालाई पूरै नष्ट गरिएको उल्लेख गरेको छ।
“मैले उक्त द्वीपको तेलसम्बन्धी संरचनाहरूलाई नष्ट नगर्ने बाटो लिएको छु। तर यदि इरान वा अन्य कसैले हर्मुज स्ट्रेटको माध्यम भएर हुने जहाजहरूको स्वतन्त्र र सुरक्षित आवतजावतमा हस्तक्षेप गर्छ भने म तुरुन्त मेरो निर्णयमा पुनर्विचार गर्नेछु।’’
उहाँले इरानलाई हतियार बिसाउन र ‘आफ्नो देशका बचेखुचेका कुराहरूलाई जोगाउन’ पनि भन्नुभएको छ।
इरानी तटबाट २२ माइलको दूरीमा खाडीको उत्तरी क्षेत्रमा अवस्थित उक्त द्वीप सानो तर रणनीतिक स्थान हो।
‘पाँचवटा अमेरिकी विमान ध्वस्त भएको खबर गलत हो’
राष्ट्रपति ट्रम्पले साउदी अरबस्थित ‘प्रिन्स सुल्तान एयर बेस’मा पाँचवटा अमेरिकी ट्याङ्कर विमानहरू नराम्ररी क्षतिग्रस्त भएको भन्ने समाचारको खण्डन गर्नुभएको छ।
केही सञ्चारमाध्यमले इरानी मिसाइल आक्रमणबाट ती विमानहरू ध्वस्त भएको दाबी गरेपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ुट्रुथ सोसलु मार्फत स्पष्टीकरण दिनुभएको हो।
वाल स्ट्रिट जर्नललगायतका सञ्चारमाध्यमले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानी मिसाइल प्रहारबाट विमानमा क्षति पुगेको खबर प्रकाशित गरेका थिए। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो युद्ध सुरु भएयता लेबनानमा हालसम्म ७७० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।