• १ चैत २०८२, आइतबार

रोजाका लागि कैदीबन्दीलाई खाद्यान्न सामग्री वितरण

blog

बाँकेको नौबस्तास्थित कारागारका कैदीबन्दीकालागि दिइएको खाद्यान्न सामग्री । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १ गते । मुस्लिम समुदायको पवित्र धार्मिक महिना रमजानको अवसर पारेर कैदी बन्दीहरुलाई रोजाका लागि विभिन्न संघसंस्थाले खाद्यान्न सहयोग गरेका छन्। 

बाँकेको नेपालगन्ज कारगार र नौबस्ता कारागारमा रहेका मुस्लिम कैदी बन्दीहरुलाई रोजा खोल्न र सेहरी खानका लागि राजा खान विइङ ह्युम्यान संस्था तथा नेपालगन्ज मुस्लिम समाज बाँकेले आवश्यक खाद्यान्न सामग्री सहयोग गरेको हो । 

हाल अमेरिकामा रहनुभएका राजा खान विइङ ह्युम्यान संस्थाका संरक्षक राजा खानको सहयोगमा नेपालगन्ज कारागारमा रहेका मुस्लिम कैदीबन्दीहरूलाई रोजा इफ्तार र सेहरीकालागि केराउ, चना, तेल, चिनी, चियापत्ती, खजुर, बिस्कुट, आलु, प्याज, पानी, रुवाफ्जा, बेसन, कचरी मिक्स र कागती लगायतका सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ । 

सो संस्थाले हरेक वर्ष नेपालगन्ज कारागारका कैदी बन्दीका लागि रोजामा खाद्यान्न सामाग्री सहयोग गर्दै आएको छ । सोही प्रकारले बाँकेको नौबस्तास्थित कारागारमा रहेका कैदी बन्दीहरुका लागि नेपालगन्ज मुस्लिम समाज बाँकेले आवश्यक खाद्यान्न सामग्री सहयोग गरेको समाजका अध्यक्ष अब्दुल हकीम हलवाईले बताउनुभयो । उहाँले रमजान आत्मशुद्धि, सहिष्णुता र मानव सेवाको महिना भएकोले बढी भन्दा बढी सेवा र सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । 

नेपालगन्ज मुस्लिम समाज बाँकेका सचिव एवं प्रवक्ता मेराज अहमद हिमालयले  समाजले कोरानाकालदेखिनै गरिब, असहाय र दुखीहरुको सहयोग गर्दै आएको जनाउँदै रमजानमा पनि हरेक वर्ष कैदीबन्दीलाई खाद्यान्न सहयोग गर्दै आएको बताउनुभयो ।   

नेपालगन्ज र नौबस्ता कारागारमा खाद्यान्न सहयोग गरिएपछि कारागार प्रशासनले दुबै संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यले कैदीबन्दीहरूको मनोबल बढाउने बताउनुभयो। 

मुस्लिम समुदायले रमजानको पवित्र महिनामा ३० दिन निराहार ब्रत बस्नुका साथै आफ्नो चल सम्पत्तीबाट २.५ प्रतिशत रकम दुखी र गरिबहरुलाई दान गर्नुपर्ने अनिवार्य नियम छ जसलाई जकात भन्ने गरिन्छ ।