• ३ चैत २०८२, मङ्गलबार

छाडा चाैपायाका लागि नमुना गौशाला

blog

फडिन्द्र अधिकारी

लेखनाथ, चैत १ गते । उन्नाइस वर्षसम्म पोखरा महानगरभरीको फोहोर फालिएको बाच्छेवुडुवा क्षेत्र अहिले कस्तो होला ? दुर्गन्ध फैलिएको होला वा जताततै फोहोर फालिएको होला ? पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँको ल्याडफिल साइट तीन वर्षअघि बन्द गरिएको थियो । महानगरले अझै फोहोर व्यवस्थापन गर्ने स्थायी ठाउँ पाएको छैन । पुरानो ल्यान्ड फिल साइटमा अहिले नमुना गौशाला बनेको छ ।

पुष्करिणी परोपकार गोकुलधाम नाम दिएर राष्ट्रिय परोपकार महासंघ नेपालले यहाँ महानगरभरीका छाडा चाैपाया राखेर नमुना गौशाला बनाएको हो । सडकमा छाडिएका गाईगोरु यहाँ व्यवस्थापन भएपछि सडक दुर्घटना कम भएका छन् भने गौशालासँगै अर्गानिक तरकारी खेती, घाँसखेतीसहित पर्यटकीय गन्तव्यका रुपमा यो ठाउँ विकास हुँदै छ ।

अहिले गाई, गोरु, बाच्छाबाच्छी गरी यहाँका तीन सय १५ वटा पशु छन् । गोकुलधामका परिकल्पनाकार एवम् संरक्षक कमलनयन गौतम सडकमा फालिएका पशु व्यवस्थापनसँगै एउटा नमुना देखाउने गरी काम भइरहेको बताउनुहुन्छ । “महानगर र स्थानीयको टाउको दुखाइ बनेका छाडा पशु अहिले सडकमा छैनन्,” उहाँ भन्नुहुन्छ, “गाईबारे अध्ययन गर्न चाहने, अर्गानिक खेती हेर्न चाहनेहरुलाई यो अध्ययन केन्द्र बन्दै छ । कृष्ण मन्दिर बनाउँदै छौँ ।” 

गौशालालाई दुई वर्षभित्र आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । एकातिर घाँसखेती विस्तारै गर्दै लगिएको छ भने अर्कातिर अर्गानिक तरकारी, फूलखेती गरिएको छ । दूध नदिने, वृद्ध र काम नलाग्ने भएपछि सडकमा छाडिएका गाईबाट तत्काल ठूलो आम्दानी सम्भव नभएकाले गौशालाले पृथक बाटो रोजेको छ ।

गाईको मूत्र र गोबरबाट मल बनाएर आफ्नै खेतीमा प्रयोग गरिरहेको छ भने अरुलाई पनि बेच्ने गरेको छ । गोबर र गहुँतलाई प्रशोधन गरी प्राङ्गरिक मल, गड्यौला मल, झोल मल उत्पादनसँगै अर्गानिक तरकारी खेतीसमेत यहाँ गर्रिको छ । केही दुहुना गाईबाट दैनिक सालाखाला ७० लिटर दूध उत्पादन हुने गरेको छ ।

गौशाला स्थापनाको तीन वर्षमा पूर्वाधार निर्माणसँगै गाईलाई पनि खुवाउनका लागि बोरिङ गरिएको छ । यसको व्यवस्थापनका लागि स्रोत जुटाउन यही चैत २ गतेबाट ९ गतेसम्म यहाँ ज्ञान महायज्ञ आयोजना हुँदै छ । महायज्ञ मूल आयोजक समिति सचिव रामजी जिसी निश्चित रकम जम्मा गर्ने लक्ष्यभन्दा पनि गाईको संरक्षण र गौशाला व्यवस्थापनका लागि स्रोत जुटाउन महायज्ञ गर्न लागिएको बताउनुहुन्छ । यो क्षेत्रमा जडिबुटी खेती गर्ने, घाँस खेती विस्तार गर्ने, योग तथा ध्यान केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । 

गौशालाका परिकल्पनाकार गौतम भन्नुहुन्छ, “हरेक पोखरेली र बाहिरबाट पोखरा आउनेले एकपटक पुग्नैपर्ने गन्तव्यका रुपमा यसलाई विकास गर्ने लक्ष्य छ । छाडिएका गाईबाट उदाहरणीय काम भएको देखेर धेरैले प्रेरणा लिऊन भन्ने हाम्रो लक्ष्य हो ।"