सिन्धुलीमाढी, चैत ३ गते । सिन्धुली जिल्लाको विभिन्न ठाँउमा सोमबार बेलुका आएको भीषण हुरीबतासले जनजीवन प्रभावित बनाएको छ ।
एक्कासि तीब्र गतिमा आएको उक्त हुरीबतासले विद्यालय भवनको छानो तथा एक दर्जनभन्दा बढी व्यक्तिको घरगोठको छानो उठाउनुका साथै किसानको बालीनाली, तरकारी र फलफूल नष्ट गरी क्षती पुर्याएको छ ।
त्यस्तै जिल्लाका विभिन्न ठाँउमा विद्युत सेवा अवरुद्ध हुँदा जनजीवन थप प्रभावित वनको स्थानीयले बताएका छन् । हुरीबतासका कारण विद्युत् संरचनामा क्षति पुगेपछि जिल्लाका घ्याङ्लेख, सुनकोसी, गोलन्जोर, फिक्कल, तीनपाटन, मरिण गाउँपालिका लगायत अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित बनेको हो ।
गोलन्जोर गाँउपालिका–१ का वडा अध्यक्ष सोमप्रसाद बरालका अनुसार उक्त वडामा रहेको प्राथमिक विद्यालय जुकेपानीको भवनको छाना पुरै उडाई क्षति भएको छ ।
त्यस्तै जुकेपानी, सारौटार, च्याकुटार, धनसार, बिर्ता लगायतका गाँउमा हालसम्म नौ वटा घरमा छानो उडाई हुरीबतासले क्षति गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ हुरीबताससँगै हालसम्म पनि विद्युत सेवा अवरुद्ध भएकाले सबैको फोन स्विच अफ भई सम्पर्क हुन सकेको छैन । क्षतिको विवरण अपुस्ट आई रहेको छ । हुरीबतासले व्यापक क्षति गरेको छ ।’
सिन्धुली क्षेत्र नं. २ का निवर्तमान सांसद लेखनाथ दाहालले सामाजिक सञ्जाल मार्फत गए राति अचानक आएको हुरीबतासले सिन्धुलीका सबै पालिकामा अकल्पनिय क्षति पुर्याएको हुँदा उद्धार, राहत र पुन निर्माण प्रक्रिया तत्काल थाल्न नेपाल सरकार समक्ष माग गर्नु भएको छ ।
उहाँले नेकपाको सिङ्गो पार्टी पङ्क्तिलाई उद्धार, राहत र पुन निर्माण प्रक्रियामा जोडिन निर्देशन दिनु भएको छ ।गोलन्जोर गाँउपालिका–२ कै रजायमा पाँच वटा घरको छाना हुरीबतास ले उडाई क्षति गरेको छ ।
रजायमा १४ वटा घर रहेकोमा पाँच वटा घरमा हुरीबतासले क्षति गरेको उक्त वडाका अध्यक्ष दौलत कार्कीले जानकारी दिनुभयो । तीनपाटन गाँउपालिका–९ सालुकेमा हुरीवतासपछि एक जना (पहाडी थर)को घर गोठमा पूर्ण रुपमा आगलागी भई क्षति भएको जानकारी आएको गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पालिकामा हुरीबतास धेरै नोक्सानी पुर्याएको छ । विद्युत सेवा अवरुद्ध हुँदा धेरैको फोन लाग्न नसकेर क्षतिको विवरण पूर्ण रुपमा आई रहेको छैन ।’
गाउँपालिका भवनको झ्यालको सिसा तथा वडा नं.४ को वडा कार्यालयको झ्यालको सिसा फुटाई क्षति भएको उहाँले जानकारी दिनुभयो ।
यता जिल्ला प्रहरी कार्यालयले भने उक्त हुरीबतासबाट जिल्लामा कुनै मानवीय क्षति नभएको जनाएको छ ।प्रहरी नायब उपरीक्षक सूर्यप्रकास सुवेदीले क्षतिको विवरण लिएर कुनै व्यक्ति निवेदन लिएर नआएको बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका अनुसार विद्युत् अवरुद्ध भएसँगै नेपाल विद्युत्का प्राविधिक तथा कर्मचारी रातिदेखि नै फिल्डमा खटिएर सेवा पुनः सञ्चालन गर्ने काममा जुटिरहेका छन् ।
क्षतिग्रस्त पोल, तार तथा अन्य संरचनाको मर्मत कार्य तीव्र रूपमा भइरहेको छ ।सिन्धुली वितरण सेवा केन्द्रका ईन्जिनियर केशब खत्रीले मर्मत कार्य तीव्र गतिमा अघि बढाइएको छ र चाँडै विद्युत् सेवा पुनः सुचारु गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
उहाँका अनुसार हुरी बतासले धेरै ठाँउमा तार चुडिएको, पोल ढलेको, ट्रान्सफर्मर जलेको लगायतको क्षति भएको छ । घ्याङ्लेख, सुनकोसी, गोलन्जोर, फिक्कल, तीनपाटन, मरिण लगायतका पालिकामा विद्युत सेवा अवरुद्ध अवस्थामा रहेको छ ।