काठमाडौँ, चैत ३ गते । नेपाल खेलकुद महासङ्घ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो सङ्घ नेपालको आयोजनामा बुधबारदेखि नेकोस आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ ।
चैत ९ गतेसम्म चल्ने प्रतियोगितालाई बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) ले मुख्य प्रायोजन गर्ने भएको छ । आयोजकका अध्यक्ष धर्मकुमार श्रेष्ठ र बी एन्ड टीका प्रमुख कार्यकारी अधिकृत विष्णु गिरीले मङ्गलबार प्रतियोगिता बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार बी एन्ड टीले आयोजकलाई २० लाख रुपियाँ जापानी एन उपलब्ध गराउने छ । प्रतियोगितामा क्याडेट र जुनियर गरी ३५ स्पर्धा समावेश छन् । १८ वर्षमुनि क्याडेटको पुरुषमा ११ र महिलामा १० गरी २१ स्पर्धामा खेल हुनेछ । १८ देखि २१ वर्ष जुनियरको पुरुष/महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा नेपालबाट प्रदेश, जिल्ला, क्लब, स्कुल र डोजोका खेलाडी सहभागी हुने छन् । विदेशी राष्ट्रमा भुटान र बंगलादेशका खेलाडीले भाग लिने छन् । तीन राष्ट्रबाट जम्मा ३ सय खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमश: १५ हजार, १० हजार र ५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । विगतका सातै संस्करणमा नेपालको बन्दी सहायता नियोग (पाम) टिम च्याम्पियन बनेको थियो । उत्कृष्ट २ पुरुष र २ महिला खेलाडीलाई जनही ५ हजार रुपियाँबाट पुरस्कृत गरिने छ ।
अध्यक्ष श्रेष्ठकाअनुसार सहभागी खेलाडी र अफिसियलको ५ लाख रुपियाँ बराबरको बिमा गरिएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा हुनेछ ।