प्रनिश गिरी
कुश्मा, पर्वत चैत २ गते । एक बारको जिन्दगीमा हरेक मानिससँग आफ्नै इच्छा र सपना हुन्छन् । केही गरुँ भनी हुटहुटी बोक्ने युवाले फरक सपना देख्ने गर्दछन् । सपना देख्नेमध्ये थोरैले मात्र कठिन र चुनौतीपूर्ण मानिएको आफ्नो लक्ष्य हासिल गर्छन् ।
भारत र नेपालमा रहेका धार्मिक ज्योतिर्लिङगको दर्शन पैदल यात्रा नै पूरा गर्नु भनेको कठिन र चुनौतीपूर्ण हो । यहीँ चुनौतीपूर्ण लाग्ने लक्ष्य पूरा गर्ने सपना देख्ने भारतीय युवा हुन् २९ वर्षे ललित ठाकुर ।
भारतको हिमाञ्चल प्रदेश जिल्ला मण्डीको चिण्डी गाउँ घर भएका ठाकुर आध्यात्मिक साधनामा रुचि राख्ने व्यक्ति हुन् । पिता बोधराज ठाकुर र माता प्रभा ठाकुरका पुत्र ठाकुरको पैदलयात्रा सुरु अयोध्याको राम मन्दिरबाट भएको थियो ।
नेपाल प्रवेशसँगै जनकपुरको जानकी मन्दिरको दर्शन गरी शिवरात्रीमा काठमाडौं पुगेका थिए । पशुपतिनाथको दर्शन गरी पर्वत जिल्लामा रहेको कुश्माको गुप्तेश्वर गुफासम्म आइपुग्दा करिब ११ हजार किलोमिटर पैदल यात्रा तय गरिएको पैदलयात्री ठाकुरको भनाइ छ ।
पैदल यात्राको अनूभूतिबारे पैदलयात्री ठाकुरले भन्नुभयो, “पैदल यात्राले आफ्नो देशलाई राम्रो गरी बुझ्न सकिन्छ । पैदल यात्रामा कहिले सबै कुरा मिल्छ भने कहिले मिल्दैन । युपीमा ठण्डी हुँदा मध्यप्रदेशमा आइपुग्दा ४५ डिग्रीको गर्मीको भोगाइ भयो । यात्राले जिन्दगीमा हरेक परिस्थितिमा हार मान्न हुन्न भन्ने सिकाउँछ ।’
पैदलयात्री ठाकुरका अनुसार यात्राको क्रममा विभिन्न ज्योतिर्लिङ्गहरु ओमकारेश्वर ज्योतिर्लिङ्ग, महाकाल ज्योतिर्लिङग, गुजरात प्रान्तमा नागेश्वर ज्योतिर्लिङग, द्वारिकाधाम सोमनाथ ज्योतिर्लिङग हुँदै महाराष्ट्रको त्रिम्वकेश्वर ज्यातिर्लिङ लगायत कर्नाटक, तमिलनाडुका विभिन्न ज्योतिर्लिङगको दर्शन भएको थियो ।
उहाँले उडिसाको जगन्नाथपुरी, झारखण्डको वैद्यनाथधाम ज्योतिर्लिङ्गको दर्शन गरेसँगै पैदल हिडेर दशवटा ज्यातिर्लिङगको दर्शन गरिसक्नुभएको बताउनुभयो । घरबाट पैदल हिडेको तीनसय ९७ दिनको भारतको विभिन्न १६ वटा प्रान्तहरु पार गर्दै विहार नाका हुँदै नेपाल भित्रिएका हुन् ।
गुप्तेश्वर गुफामा महादेवको दर्शन गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताउने युवा ठाकुर भन्नुहुन्छ–“गुप्तेश्वर गुफाको अवलोकन गर्न र गुप्तेश्वर शिवलिङ्गको दर्शनले थप आध्यात्मिक उर्जा मिलेको छ । गुप्तेश्वर गुफा अत्यन्त आध्यात्मिक उर्जा स्थल रहेको हुँदा यहाँ आउने जोकोही साधकको साधना सफल हुन्छ भन्ने मलाई विश्वास छ । गुफाको सुन्दर प्राकृतिक बनोटले अचम्मित तुल्याएको छ ।’ पैदलयात्री ठाकुरले मुक्तिनाथको दर्शन गरेपछि पैदल नै भारततर्फ फर्कने बताउनुभयो ।