गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २ गते । गोरखापत्र संस्थानले ‘गोरखापत्र कृत्रिम बौद्धिकता/बुद्धिमत्ता (एआई) प्रयोगसम्बन्धी नीति–२०८२’ आइतबारदेखि लागु गरेको छ ।
पत्रकारिता क्षेत्रमा प्रविधिको प्रयोगलाई व्यवस्थित, सुरक्षित र उत्तरदायी बनाउन उक्त नीति लागु गर्ने निर्णय गरेको संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले जानकारी दिनुभयो ।
संस्थान सञ्चालक समितिको बैठकले उक्त नीति लागु गर्ने निर्णय गरेसँगै गोरखापत्र संस्थानका सबै प्रकाशनमा यो नीति लागु भएको छ । महाप्रबन्धक ऐरीका अनुसार नीति कार्यान्वयनसँगै संस्थानका सबै प्रकाशन तथा डिजिटल माध्यममा एआई प्रविधिको प्रयोग स्पष्ट मापदण्ड र मार्गदर्शन अनुसार गरिने छ ।
गोरखापत्र संस्थान अन्तर्गत गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुना, गोरखापत्र अनलाइनलगायतका प्रकाशन तथा डिजिटल प्लेटफर्म सञ्चालनमा छन् । यी सबै माध्यममा एआईको प्रयोग गर्दा पत्रकारिताका आधारभूत मूल्य, सत्यता, विश्वसनीयता र सम्पादकीय स्वतन्त्रतालाई प्राथमिकतामा राखिने जनाइएको छ । नीति अनुसार एआईलाई पत्रकारिता कार्यमा सहयोगी उपकरणका रूपमा मात्र प्रयोग गरिने छ । समाचार लेखन, सम्पादन, शीर्षक सुझाव, अनुवाद, तथ्याङ्क विश्लेषण, अभिलेख व्यवस्थापन तथा डिजिटल प्रकाशन व्यवस्थापन जस्ता कार्यमा सीमित रूपमा एआई प्रयोग गर्न सकिने व्यवस्था नीतिमा उल्लेख गरिएको छ तर एआईबाट तयार गरिएको सामग्री मानव सम्पादकीय परीक्षण र स्वीकृतिबिना प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको छ ।
त्यसै गरी सम्पादकीय लेख, विचार, विश्लेषण, संस्थागत धारणा तथा राजनीतिक निष्कर्ष जस्ता विषय पूर्ण रूपमा मानवद्वारा नै तयार गरिने स्पष्ट व्यवस्था नीतिमा उल्लेख गरिएको छ । समाचारको सत्यता, स्रोतको गोपनीयता, पाठकको विश्वास तथा पत्रकारिताको नैतिक आधारलाई असर पार्ने गरी एआई प्रयोग गर्न नपाइने पनि नीतिमा उल्लेख छ ।