रमेश पौडेल
पोखरा, चैत २ गते । पोखराको फेवाताल पारिको रानीवनमा आज बिहान र पुनः दिउँसो लागेको आगो नियन्त्रणमा लिइएको छ । आज बिहान वनमा आगो लागेपछि सुरक्षाकर्मी र स्थानीयले नियन्त्रणमा लिए पनि पुनः ४ बजेपछि जंगलमा आगो फैलिएको थियो ।
जंगलमा लागेको आगो नियन्त्रणमा ल्याउन सुरक्षाकर्मी परिचालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । वनमा आगो के कसरी लागेको हो भन्ने बारेमा अझै थाहा हुन नसकेको प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज भट्टराईले बताउनुभयो ।
उहाँले कुनै व्यक्तिले नियतवश लगाएको हो वा चुरोट खाएर फालेको ठुटोबाट आगो लागेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । आगलागीका कारण वनमा रहेको जंगलमा रहेका पशुपन्छी, चराचुरुङ्गीहरु यत्रतत्र उडेको पर्यटन व्यवसायी हरि भुजेलले बताउनुभयो ।
फेवातालको दक्षिण साइडमा रहेको सो रानीवन पोखराको अर्को सौन्दर्य हो । धेरै आन्तरिक र बाह्य पर्यटकहरु हाइकिङ गर्दै पुम्दीभुम्दीको स्तुपा, विशाल महादेव मन्दिर जानका निम्ति यस वनको बाटो प्रयोग गर्दछन् । फेवातालको जलाधारको आंशिक स्रोतको रुपमा पनि यस वनलाई लिइन्छ ।
कुनै पनि कारणले यहाँ आगो लाग्नु भनेको पोखराको पर्यावरण र पर्यटनलाई असर पर्नु हो भन्ने भनाइ पोखराका पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन व्यवसायी नरेश भट्टराईले भन्नुभयो, ‘यस प्रकारका घटना हुन नदिन हामी सबै चनाखो हुनुपर्छ । यसले पोखराको पर्यटनलाई प्रत्यक्ष असर पार्दछ ।’