शेरबहादुर राई
ओखलढुङ्गा, चैत २ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेल र नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईंटेलले जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गामार्फत निर्वाचन आयोगमा खर्च विवरण पेस गर्नुभएको हो । निर्वाचनमा विजयी हुनुभएका पोखरेल र पराजित हुनुभएका लुईंटेलबिच पाँच मतको झिनो अन्तर रहेको थियो ।
मतान्तर अत्यन्तै सानो भए पनि चुनावी खर्चमा भने उल्लेख्य अन्तर देखिएको छ । निर्वाचनमा विजयी हुनुभएका पोखरेलले १० लाख ३४ हजार ७०० रुपियाँ खर्च भएको विवरण बुझाउनुभएको छ । यता नेपाली कांग्रेसका उम्मेदवार लुईंटेलले ३० लाख ९९ हजार १५० रुपियाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ ।
पोखरेलले बुझाउनुभएको विवरण अनुसार प्रचार–प्रसार सामग्री छपाइ (वाचापत्र, नमुना मतपत्र, फ्लेक्स, नामावली, ब्यानर) मा १ लाख ९५ हजार खर्च भएको छ । सवारी साधन तथा इन्धनमा २ लाख ३३ हजार ५००, घरदैलो कार्यक्रम, खाजा तथा बसोवासमा २ लाख ७० हजार २०० खर्च भएको जनाइएको छ ।
यसैगरी निर्वाचन सम्पर्क कार्यालय व्यवस्थापनमा २० हजार, बुथ प्रतिनिधि परिचालनमा १ लाख ५० हजार, विद्युतिय प्रचार–प्रसारमा २० हजार, कोणसभा, गोष्ठी तथा भेटघाटमा ५० हजार खर्च भएको विवरणमा उल्लेख छ । वडास्तरीय प्रचारप्रसारमा ७५ हजार, निर्वाचन सामग्री ढुवानीमा २० हजार रुपियाँ र अन्य विविध शीर्षकमा २० हजार खर्च भएको पनि पोखरेलले जनाउनुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार लुईंटेलले भने चुनावी अभियानका क्रममा ३० लाख ९९ हजार १५० खर्च भएको विवरण बुझाउनुभएको छ ।
उहाँका अनुसार मनोनयन दर्ता गर्दा १० हजार खर्च भएको छ । नमुना मतपत्र तथा पोस्टर छपाइमा १ लाख ५० हजार, यातायाततर्फ १४ लाख १५ हजार खर्च भएको विवरणमा उल्लेख छ । त्यसैगरी प्रचार–प्रसार प्रशिक्षण तथा खाजा खर्चमा २ लाख १ हजार १५०, प्रचार सामग्री खरिदमा १ लाख ९८ हजार रुपियाँ र गोष्ठी तथा भेलामा ११ लाख २५ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गामा निकै कडा प्रतिस्पर्धा भएको थियो । अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।
नेपाली कांग्रेसका उम्मेदवार लुईंटेलले १३ हजार ९४८ मत प्राप्त गर्नुभएको थियो । फागुन २१ गते सम्पन्न निर्वाचनमा ओखलढुङ्गाबाट दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दिएका थिए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अम्बिरबाबु गुरुङ, नेकपा एमालेकी अस्मिता थापा, श्रम संस्कृति पार्टीका डा. उद्धवकुमार राई लगायत अन्य उम्मेदवारले भने चुनावी खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।