• ३ चैत २०८२, मङ्गलबार

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

blog

ढोरपाटन नगरपालिकाको बोबाङका बाढी पीडित । तस्बिरः रामकृष्ण बोहरा

बागलुङ, चैत ३ गते । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास निर्माण गर्न सकेका छैनन् । वि.सं. २०७७ भदौ १७ गते आएको बाढीले ढोरपाटन नगरपालिका-९, बोबाङमा ठुलो जनधनको क्षति पुर्‍याएको थियो ।

बाढी र पहिरोका कारण विस्थापित भएका १२६ भन्दा बढी परिवारमध्ये २० जनाले मात्र पुनर्निर्माणका लागि पहिलो किस्ता बुझेका छन् । सरकारी मापदण्ड पूरा गर्न कठिन भएपछि धेरै पीडितले दोस्रो किस्ता पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा आयोजित सरोकारवालाको बैठकमा ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले विपतन्य समस्याका पीडित अझै घर बनाएर बस्न नसकेकाले राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सरकारी मापदण्ड झन्झटिलो हुँदा नगरपालिकाले आफ्नै नीति बनाएर घरबारविहीनलाई आवास निर्माणमा सहयोग गरिरहेको जानकारी दिनुभयो । यस्तै तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले अझै कतिपय पीडितको सूचीकरण नै हुन नसकेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले विपत् व्यवस्थापनको पूर्वतयारी र बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालका अनुसार पेट्रोलियम पदार्थ र एलपी ग्यासको अभाव हुन नदिन तथा बजारमा दैनिक उपभोग्य वस्तुको सहज उपलब्धताबारे नियमित अनुगमन गरिने छ ।