सुधा देव
भारदह(सप्तरी), चैत ३ गते । तराई मधेशमा गर्मी बढेपछि राजविराज नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई गर्मी छल्न पङ्खा वितरण कार्यक्रम सुरु गरेको छ ।
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले दुई दिन यता पङ्खा वितरण कार्यक्रम सुरु गरेको हो ।राजविराज नगरपालिका वडा नं १ स्थित रहेको राष्ट्रिय आधारभूत विद्यालयलाई मङ्गलबार ८ थान पङ्खा हस्तान्तरण गरेको छ ।
यश अघि सोमबार राष्ट्रिय आधारभूत विद्यालय दिगबा (बिरौल) लाई चार थान पङ्खा हस्तान्तरण गरिएको थियो । यसैगरी, राजविराज-२ स्थित रहेको राजदेवी माध्यमिक विद्यालयलाई एक थान मोटर हस्तान्तरण गरेको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत प्रविणले जानकारी दिनुभयो ।
जिल्लामा हुने अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई पठनपाठन गर्न समस्या भइरहेको बेला विद्यालयमा वितरणले गरेको पङ्खाको सहयोगले विद्यार्थीलाई पठनपाठन गर्न सहयोग मिल्ने विश्वास लिएको उहाँले बताउनुभयो। अनुगमनको क्रममा विद्यालयहरू जाँदा कक्षा कोठामा पङ्खा नभएकोले गर्मीको कारण विद्यार्थीलाई पठनपाठन गर्न कठिनाइ भइरहेको देखेपछि आवश्यक भएको विद्यालयमा पङ्खा वितरण गरेको र बाँकीमा पनि आवश्यकता अनुसार वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।