सिराज खान
नेपालगन्ज, चैत ३ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयमा विभिन्न प्रकारका १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान स्टक रहेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामसरण लामिछानेले खाद्य व्यवस्था कम्पनीको गोदाममा हाल जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरेर १९ हजार क्विन्टल चामल स्टकमा रहेको बताउनुभयो ।
उहाँले यसैवर्ष खरिद गरिएको र कुटाउन बाँकी रहेको १० हजार क्विन्टल धान पनि स्टकमा रहेको जानकारी गराउनुभयो ।
प्रमुख लामिछानेका अनुसार खाद्यको गोदाममा हाल जिरा मसिनो चामल पाँच हजार क्विन्टल, अरुवा मसिनो चामल पाँच हजार क्विन्टल र अरुवा मोटो चामल नौ हजार क्विन्टल स्टक रहेको छ ।
गोदाममा रहेको चामलको खुद्रा तथा थोक बिक्री गर्ने कार्यपनि चलिरहेको र पश्चिम नेपालको कर्णाली प्रदेशका जिल्लाहरुबाट माग भइ आएमा पठाउने कार्य समेत गरिरहेको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
यसपटक चामलको मूल्य समायोजन भएर आउँदा प्रति क्विन्टल पाँच सय देखि छ सय रुपियाँसम्म मूल्य घटेर आएकोले पनि बजारमा खाद्यको चामलको माग बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख लामिछानेले बताउनुभयो ।
उहाँले खाद्य व्यवस्था कम्पनीको चामल गुणस्तरीय हुने र उपभोक्ताले विश्वास गर्ने गरिएकोले स्थानीय बजारसँग प्रतिष्पर्धा गर्न मूल्य समायोजन गरिएको बताउनुभयो ।
पश्चिम नेपालको कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, र जाजरकोटमा रहेका खाद्यका डिपोहरूमा अहिले पर्याप्त चामल रहेकोले कुनै समस्या नरहेको जनाउँदै प्रमुख लामिछानेले आवश्यक परेमा तत्काल पठाउने गरी स्टक राखिएको पनि बताउनुभयो ।
बाँकेमा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो । जिल्लाका धेरै किसानले कम्पनीमा बिक्रीका लागि धान लिएर आएपनि कोटा कम भएको जनाउँदै सबै धान खरिद नगरेपछि फिर्ता जानुपरेको थियो ।
यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ ३३ पैसामा खरिद गर्ने गरि मूल्य तोकेको थियो ।