लीलाधर ओली
घोराही, चैत ३ गते ।दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ ।
‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई सहज, छिटो र पहुँचयोग्य बनाउने उद्देश्यले घरदैलोमै पुगेर सेवा प्रदान गर्ने गरी अभियान सुरु गरेको हो ।
अभियानमार्फत नागरिकलाई कार्यालय धाउनु पर्ने झन्झट कम हुने र घटना दर्ता प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अभियानअन्तर्गत लमही नगरपालिका वडा नं. ६ मा विनासी केही दिनअघि सवारी दुर्घटनामा परी निधन हुनुभएका दीपक पोख्रेल र देउपुर निवासी हरिराम चौधरीको मृत्युदर्ता गरी परिवारलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
घटना दर्ता कार्यक्रममा नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी तथा वडाध्यक्ष श्यामनारायण चौधरीलगायतको सहभागितामा मृत्यु दर्ताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
मृत्यु दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्दै नगर प्रमुख चौधरीले व्यक्तिगत घटना दर्ता नागरिकका आधारभूत अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको भन्दै जन्म, मृत्यु, विवाह तथा बसाइँसराइ जस्ता घटना समयमै दर्ता गराउनु आवश्यक रहेको बताउनुभएको थियो ।
उहाँले नगरवासी नागरिकलाई घट्ना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा पुगेर अनिवार्य रूपमा दर्ता गराउन प्रेरित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभएको थियो ।