• १ चैत २०८२, आइतबार

राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुङ्गो लगायो

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक ।

काठमाडौँ, चैत १ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका सांसदहरूको नामावली टुङ्गो लगाएको छ । आइतबार काठमाडौँको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले पाउने चार जना समानुपातिक सांसदको नाम टुङ्गो लगाएको हो ।

निर्वाचन आयोगमा नामावली पठाएपछि मात्रै सार्वजनिक गर्ने गरी प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाइएको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो । त्यसै गरी बैठकले मधेस प्रदेशमा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा नियुक्त गर्नका लागि एक जनाको नाम सिफारिस गरेको छ ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘विषम परिस्थितिमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्ने र प्रत्यक्षतर्फ ज्ञानबहादुर शाहीलाई विजयी गराउने सम्पूर्ण मतदातालाई धन्यवाद दिने निर्णय गरिएको छ । त्यसै गरी मधेस प्रदेशसभामा रिक्त रहेको सदस्य पदमा समानुपातिक सूचीको प्राथमिकता क्रममा रहेको नामलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । प्रतिनिधिसभाका चार जना सदस्यको नाम आयोगमा पठाएपछि सार्वजनिक गरिने छ ।’

बैठकले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेता ज्ञानबहादुर शाहीलाई बधाई दिँदै पार्टीको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार प्रकट गरेको छ ।