काठमाडौँ, चैत १ गते । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्न दुई दिने विशेष समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा फागुन २९ र ३० गते केन्द्रीय कार्यालयमा आयोजित बैठकले निर्वाचनका अनुभव र भावी रणनीतिबारे गहन छलफल गरेको हो ।
बैठकले सीमित समय र न्यून स्रोतसाधनका बाबजुद पार्टीले देशभर सम्मानजनक मत प्राप्त गरेको निष्कर्ष निकाल्दै यसलाई भविष्यको मजबुत राजनीतिक आधारशिलाका रूपमा लिएको छ । बैठकमा केन्द्रीय समिति सदस्य, उम्मेदवार, प्रदेश तथा जिल्ला संयोजकहरूको सहभागिता थियो ।
छलफलका क्रममा पार्टीलाई थप व्यवस्थित, वैचारिक रूपमा स्पष्ट र सङ्गठनात्मक रूपमा सुदृढ बनाउँदै राष्ट्रिय मूलधारको शक्तिका रूपमा विकास गर्ने साझा निष्कर्ष निकालिएको छ । बैठकले सचिवालय, विभाग, आयोग र स्थानीय तहसम्मका संरचनालाई कार्यमुखी बनाउने निर्णय गरेको छ । साथै डिजिटल उपस्थिति, युवा तथा महिला सहभागिता र सदस्यता विस्तारलाई तीव्रता दिने विषयमा समेत सहमति जुटेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुलमान घिसिङले प्राप्त जनमतलाई हारका रूपमा नलिई भविष्यको उज्यालो यात्राको मूल्यवान् बीउका रूपमा ग्रहण गर्नुपर्ने बताउनुभयो । उहाँले चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीले देशभर उल्लेखनीय सद्भाव र जनसमर्थन प्राप्त गरेको उल्लेख गर्दै अब प्रदेश र स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो । उहाँले उज्यालो नेपाल पार्टी कुनै जाति वा क्षेत्र विशेषको नभई सम्पूर्ण नेपाली जनताको साझा र जिम्मेवार राजनीतिक विकल्प भएको समेत स्पष्ट पार्नुभयो ।
बैठकले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा वर्तमान सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीलाई ऐतिहासिक सफलताका लागि बधाई ज्ञापन गर्दै आगामी सरकारलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता डा. राजु थापाले जानकारी दिनुभयो ।