हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ ।
निरन्तर वर्षाका कारण खोलाहरूमा पानीको बहाव बढ्दै डुबानको खतरा बढेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त बस्तीका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गर्ने कार्य सुरु गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गर्नुभएको छ । शनिबार विज्ञप्ति जारी गर्दै उहाँ विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ ।
देशको मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वर्षा सक्रिय भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने आज मौसम सामान्य रहेको छ । स्थानीय वायुको प्रभाव कायमै रहेकाले एक÷दुई स्थानमा वर्षा हुनसक्ने पूर्वानुमान गरिए पनि प्रदेशको अधिकांश जिल्लामा दिउँसो घाम लागेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भारी वर्षापछिको विपद्का क्रममा हुने राहत एवं उद्धारको निरन्तर निगरानी एवं अनुगमन भइरहेको बताउनुभएको छ ।
प्रकृतिको उन्मादपूर्ण शक्तिले नेपाली भूभागलाई अहिले आँधी–बर्षाको चपेटमा पारेको छ । केही दिनदेखि चलिरहेको यो मौसमी अवस्थाले देशभरका खोला–नदीहरू बढेका छन् । बाढी–पहिरोको डर बढेको छ । लगातारको वर्षा, पहिरो, नदी–खोलाको बढ्दो बहाव, सडक अवरोध र भीषण ट्राफिकजामले यात्रालाई जोखिमपूर्ण बनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सौराहा, टाँडी, भरतपुर र नारायणगढका होटल व्यवसायीलाई अलपत्र यात्रुलाई ७५ प्रतिशत छुटमा बस्न दिने व्यवस्थाका लागि निर्देशन दिनु भएको छ ।
चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिवार साँझ अन्दाजी साढे ६ बजेको समयमा चट्याङ लागेर कटहरिया नगरपालिका –२ हथियाही बस्ने इसु मिया लहेरीको नाति मरुलाल लहेरीको छोरा १७ बर्षीय सेराज लहेरी र सोहि ठाउँका पनिलाल यादवको नाति रामधेनु यादवको छोरा १६ बर्षीय नबीन यादवको ज्यान गएको हो ।
नेपाली सेनाले उपत्यकाका नदीहरूमा पानीको बहाव बढेसँगै जोखिममा परेका नागरिकको उद्धार गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेस नेता कार्यकर्ता तथा जनप्रतिनिधिलाई राहत तथा उद्धारमा जुट्न आग्रह गर्नुभएको छ।
गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पुर्याउने गरी सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
शनिबार साँझ बल्खुस्थित बागमती नदी किनारका बस्तीमा बाढी पस्न थालिसकेको थियो। सम्भावित जोखिमलाई मध्यनजर गरी त्यहाँबाट मानिसलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरियो, वरिपरी रहेका पसलका सामान सारिएको छ।
शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ ।
निरन्तरका वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीको जलसतह बढ्न थालको छ। जल तथा मौसम विज्ञान विभाग, खोकनामा जलमापन स्टेशनका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ।