• १४ चैत २०८२, शनिबार

कवितामार्फत समाज रुपान्तरणको उदघोष

blog

टीकापुर साहित्य महोत्सवको पहिलो दिन कविता वाचन गर्नुहुने साहित्यकारहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत १३ गते । कैलालीको टीकापुर साहित्य महोत्सवको पहिलो दिन वरिष्ठ साहित्यकारहरुले रचना बाचन गरी कार्यक्रमलाई उत्साहप्रद बनाउनुभएको छ । आज (शुक्रबार) विहान उदघाटन गरिएको साहित्य महोसत्वको अन्तिम सत्रमा साहित्यकारहरुले समाज रुपान्तरण गर्ने सन्देशमूलक जीवन्त रचना वाचन गर्नुभएको हो । 

कविता वाचन गर्नुहुनेमा वरिष्ठ साहित्यकार सरुभक्त, साहित्यकारहरुमा देवकी तिमिल्सिना, श्रेष्ठप्रिया पत्थर, विमला तुम्खेवा, ज्योति जंगल, सुमिना, हेमन्त शिशिर, हेमन्ती जोशी, निभा शाह लगायतले कविता प्रस्तुत गर्नुभएको थियो । 

नेपाली साहित्यमा जीवन्त सिर्जना गरी कविताको माध्यमबाट पाठकहरुलाई आकर्षित गर्नुहुने साहित्यकारहरुले आफ्नो रचनामार्फत समाजलाई सचेत गराउने र महिलामाथि हुने उत्पीडन, विभेद अन्त्यको सन्देश दिनुभएको थियो । सिर्जनामार्फत समाजमा विद्यमान विकृति, विसंगति, पितृसतात्मक सोच शैलीको अन्त्यगरी समतामूलक समाज निर्माणको उदघोष उहाँहरुले गर्नुभयो ।

पहिलो दिनको अन्तिम सेसनमा वरिष्ठ साहित्यकार तथा देउडा गायक यज्ञराज उपाध्यायले देउडा गीतमा साहित्यकारहरुलाई नचाउनुभयो । देउडा गाउँदै तालमा ताल मिलाएका साहित्यकारहरुले उपाध्यायको गीतमा छमछमी नाच्नुभएको थियो । भारतको सिलगुढी, नेपालको काठमाडौं, पोखरासहित देशको विभिन्न ठाउँबाट टीकापुर पुग्नुभएका साहित्यकारले देउडा गीत र नाचमा झुम्नुभएको थियो । 

शुक्रबारदेखि सुरु भएको टीकापुर साहित्य महोत्सव आइतबार अपरान्हसम्म चल्नेछ । थारु साहित्य तथा सांस्कृतिक उत्सव नाम दिइएको महोत्सवको अन्तिम दिन आइतबार थारु साहित्य विशेष कार्यक्रम गर्ने आयोजकको भनाइ छ । टीकापुर साहित्य समाज र नेपाल प्रज्ञा प्रतिष्ठान सुदूरपश्चिमको संयुक्त आयोजनामा भइरहेको टीकापुर महोत्सवमा विभिन्न २७ वटा प्यानल डिस्कशनका सत्रहरु रहने महोत्सवका संयोजक महेशविक्रम शाहले बताउनुभयो ।