• १४ चैत २०८२, शनिबार

वसन्तपुर पुग्यो सेतो मच्छिन्द्रनाथको रथयात्रा

blog

काठमाडौँ,  चैत १३ गते । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अघि पु¥याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा दोस्रो दिन अर्थात् रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पु¥याउने गरिन्छ । 

असनबाट आज रथ तानी मच्छेन्द्रबहाल इन्द्रचोक हुँदै वसन्तपुर दरबार क्षेत्रको कालभैरव अघि पु¥याइएको हो । रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । हनुमानढोका दरबार क्षेत्रको कालभैरव अघि रथ पुगेसँगै पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

रथयात्राको तेस्रो दिन हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिने सेतो मच्छिन्द्रनाथका पुजारी एवं काठमाडौँ महानगरपालिका वडा २५ का पूर्ववडाध्यक्षसमेत रहनुभएका नीलकाजी शाक्यले जानकारी दिनुभयो । तेस्रो दिन चिकमुँगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिने मार्ग तय गरिएको छ ।

रथयात्राका लागि बिहीबार बेलुकी पाँच बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । अष्टमीका दिन बिहीबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको  थियो ।   

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ । रासस