• १३ चैत २०८२, शुक्रबार

काठमाडौँमा 'इन्टरनेशनल एण्ड ग्लोबल करिअर समिट २०२६' हुने

blog

पत्रकार सम्मेलनका सहभागीहरू ।

काठमाडौँ, चैत १३ गते । अमेरिका र क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै आयोजना हुन लागेको ‘इन्टरनेशनल एण्ड ग्लोबल करिअर समिट २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ । 

काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले शनिबारदेखि सुरु हुने समिटको तयारी पूरा भएको जानकारी दिएको हो । आयोजकका अनुसार समिटमा ७०० भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ ।

अर्बिट इन्टरनेशनल एजुकेशन र स्ट्र होल्डिङ्सको संयुक्त आयोजना तथा अमेरिकास्थित एमपावर फाइनान्सिङ कम्पनीको सहकार्यमा सञ्चालन हुन लागेको उक्त समिट भोलि शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।

समिटको मुख्य आकर्षणका रूपमा एमपावरका अन्तर्राष्ट्रिय विशेषज्ञको सहभागिता रहनेछ । उनीहरूले अमेरिका र क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीलाई बिनाधितो शैक्षिक ऋण, वित्तीय योजना तथा अध्ययनपछिका अवसरबारे प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

अर्बिट इन्टरनेशनलका अध्यक्ष प्रकाश पाण्डेले समिटले विद्यार्थी र अभिभावकलाई एकै स्थानमा विभिन्न कलेज, विषय र अध्ययन विकल्पबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी र अभिभावकले आफ्नो रुचिअनुसारको विषय र कलेजबारे एकै ठाउँमा जानकारी पाउन सक्ने भएकाले यो समिट निकै महत्त्वपूर्ण हुनेछ ।”

त्यस्तै, स्ट्र होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण अधिकारीले समिट केवल अध्ययनका विकल्पमा सीमित नभई भविष्यको रोजगारीसम्म केन्द्रित रहने स्पष्ट पार्नुभयो । उहाँका अनुसार समिटले विद्यार्थीलाई कुन देश र कलेज रोज्ने मात्र होइन, अध्ययनपछिको करिअर र रोजगारीका अवसरबारे पनि सचेत गराउनेछ ।

एमपावर फाइनान्सिङकी प्रतिनिधि क्लेयर अलमाण्डले अमेरिका र क्यानडामा स्नातकोत्तर अध्ययन गर्न चाहने विद्यार्थीका लागि उपयुक्त विषय छनोट गर्नसमेत समिट उपयोगी हुने बताउनुभयो । उहाँले बिनाधितो शैक्षिक ऋण उपलब्ध गराउँदा विद्यार्थीको शैक्षिक प्रदर्शनलाई मुख्य आधार मानिने र अध्ययनपछिको रोजगारीको सम्भावनालाई समेत ध्यानमा राखिने उल्लेख गर्नुभयो ।

समिटमा विदेश अध्ययनसँग सम्बन्धित आर्थिक चुनौती, सुरक्षा, स्वास्थ्य बिमा र विद्यार्थी जीवनशैली व्यवस्थापनजस्ता विषयमा विशेष सत्र सञ्चालन गरिनेछ । साथै, अमेरिकाको व्यावहारिक वैकल्पिक प्रशिक्षण (ओपिटी) र क्यानडाको वर्क परमिट प्रणालीका फाइदाबारे पनि छलफल हुने कार्यक्रम छ ।

कार्यक्रमलाई थप आकर्षक बनाउन एमपावरले ‘आइसब्रेकर’ गतिविधि र ‘कहुट’ हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्नेछ, जहाँ सहभागीले आकर्षक उपहार जित्न सक्नेछन् । प्रारम्भिक रूपमा सहभागी हुनेलाई पावर बैंक र थर्मल टम्बलर प्रदान गरिनेछ भने एक भाग्यशाली सहभागीले आईप्याड जित्ने अवसर पाउनेछन् ।

समिटमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन । तर, सीमित सिटका कारण इच्छुक विद्यार्थी तथा अभिभावकले अग्रिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।