• ३ माघ २०८२, शनिबार

भिमफेदीमा कार दुर्घटना : तीन जना घाइते

blog

अनिल पराजुली    
हेटौँडा, माघ ३ गते ।
हेटौँडा–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको भिमफेदीमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

भिमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको दुर्घटनामा कार चालक काभ्रे धुलिखेल नगरपालिका–९ का ६८ वर्षीय शिवप्रसाद सिक्देल, काभ्रे मण्डलदेवपुर नगरपालिका–१ का ४७ वर्षीय रामेश्वर ढकाल र काठमाडौँ महानगरपालिका–३२ का ६१ वर्षीय दीपक केसी घाइते हुनुभएको हो । दुर्घटना शुक्रबार भएको हो ।

घाइतेहरूको छाती, हात, टाउको, ढाड र अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो । हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ३८९० नम्बरको कार सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको थियो ।

घटनापछि इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठको नेतृत्वमा सात जना ट्राफिक प्रहरी घाइते तीनजनालाई उद्धार गरी उपचारका लागि भिमफेदी अस्पताल पठाइएको थियो । कार भने घटनास्थलमै रहेको छ ।