महोदय,
साँच्चै !
प्रशासनको खुट्टा हुँदैन नि !
तर ऊ जहाँ पनि पुग्छ–
नवजात शिशुको जन्मदर्ताबाट
वृद्धको मृत्युदर्तासम्म,
कृषकको हलोको अनौदेखि
वैज्ञानिकको प्रयोगशालासम्म ।
थाहा छ ! उसलाई कहिल्यै हिँडेको देखिन्न,
तर ऊ सर्वत्र उपस्थित हुन्छ ।
उसको हस्ताक्षरमा
राष्ट्रको कानुन बस्छ,
उसको छापमा
हजारौँ जनताको सपना अडिन्छ ।
हामीलाई खुट्टा नभएको प्रशासनले बाँधिराख्छ–
कहिले कागजका धागोहरूमा,
कहिले नियमका अनुच्छेदहरूमा,
कहिले फाइलका थुप्राहरूमा,
अनि कहिले छापका कालो वृत्तहरूमा ।
खै, कसरी भनौँ ?
उसले हिँड्दैन,
बोल्दैन पनि ।
हामी नै उसको आवाज बोकेर हिँड्छौँ ।
उसले खुट्टा नचाल्दा पनि
हाम्रो गति रोकिन्छ ।
उसको मौनतामा पनि
हाम्रो दिनचर्या टाँसिन्छ ।
प्रशासनलाई बेला बेला खुट्टा नलागे पनि
हामीले आधार दिन्छौँ–
कर तिरेर,
आज्ञा मानेर,
आशा बोकेर ।
त्यही आधारबिना
उसको अस्तित्व पनि त शून्य हुन्छ ।
अनि !
हामी कहिलेकाहीँ भुल्छौँ–
प्रशासन हाम्रो सेवक हो,
मालिक होइन ।
हाम्रो जीवन सजिलो बनाउन बनेको हो,
गाह्रो बनाउन होइन ।
हाम्रो भविष्य उज्यालो बनाउन बनेको हो,
अँध्यारोमा कैद गर्न होइन ।
त्यसैले !
जब हामी सचेत हुन्छौँ,
जब हामी एउटै स्वरमा बोल्छौँ,
जब हामी आफ्नो बाटो आफैँ कोर्छौं,
त्यो खुट्टा नभएको प्रशासन
सही बाटोमा हिँड्न बाध्य हुन्छ ।
किनभने खुट्टा नभएको शरीर
उठ्न सक्दैन ।
जनताको हातले थामिएन भने
खुट्टा नभएको शक्ति
टिक्न सक्दैन ।
जनताको विश्वासले समेटिएन भने
ऊ पनि छरपस्ट हुन्छ ।
अनि !
छरपस्ट वस्तुलाई
हावाले उडाउने डर हुन्छ ।